एसडीएफ अध्यक्षले कवि एवं पत्रकार पदम छेत्रीको निधनमा शोक व्यक्त गरे
एसडीएफ अध्यक्षले कवि एवं पत्रकार पदम छेत्रीको निधनमा शोक व्यक्त गरे


गान्तोक, 03 अप्रेल (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले कवि, सम्पादक, लेखक पदम छेत्रीको निधन नेपाली साहित्य संसार र नेपाली समाजको निम्ति अपुरणीय क्षति बताएको छ। उनको देहावसानले नेपाली बौद्धिक समाजमा ठूलो खाल्डो सिर्जना गरेको छ, जसको अभिपूरण सायदै हुनसक्ने बताएको छ।

एसडीएफ अध्यक्ष पवन चामलिङले आफ्नो शोक सन्देशमा भने, 'मेघालयको तुरामा जन्मनुभएका कवि छेत्रीले विगत चार दशकदेखि सिक्किम र वरपरका क्षेत्रहरूलाई आफ्नो कार्यथलो बनाएर सक्रिय हुनुहुन्थ्यो। लेखन, सम्पादनबाहेक विभिन्न साहित्यिक-सामाजिक गतिविधिहरूमा पनि उहाँको उल्लेखनीय योगदान रहँदै आएको थियो। विशेषतः नेपाली साहित्यिक रचनाहरूलाई हिन्दी भाषामा अनुवाद गर्ने कार्यमा उहाँको अहम् योगदान रहेको छ।'

दुई मौलिक कविता संग्रह र एउटा शोधपरक ग्रन्थका रचयिता छेत्रीले नेपाली एवम् हिन्दी पत्रकारिताको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएको उनले बताएका छन्। यसबाहेक वैद्युतीय समाचार सेवामा पनि उनको उल्लेख्य भूमिका रहेको छ।

एसडीएफ अध्यक्षले विगत लामो समयदेखि कवि पदम छेत्रीसँग साहित्यिक संसर्गको सुअवसर प्राप्त गरेको उल्लेख गर्दै उनको साहित्यिक र सामाजिक जीवनमा स्व छेत्रीको चिरकालीन सम्बन्ध रहेको बताएका छन्। उनले एक मधुरभाषी, मिलनसार र सिर्जनशील व्यक्तिको रूपमा उनको अभाव सदैव खट्किरहने बताएको छ। उनले‌ स्व छेत्रीको आत्म-शान्तिको प्रार्थना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande