
नयाँ दिल्ली, 03 अप्रेल (हि.स.)। निर्वाचन आयोगले 2026 का राज्य विधानसभा निर्वाचन तथा उपनिर्वाचनका क्रममा मतदानको दिन सबै कर्मचारीलाई तलबसहित बिदा दिने निर्देश जारी गरेको छ। आयोगले स्पष्ट पारेको छ, यो सुविधा दैनिक ज्यालादारी तथा आकस्मिक श्रमिकहरूमा पनि लागू हुनेछ र यस दिनका लागि कुनै पनि प्रकारको तलब कटौती गरिने छैन।
आयोगले शुक्रबार जनाएको छ, असम, केरल, पुडुचेरी, गोवा, कर्नाटक, नागाल्यान्ड र त्रिपुरामा 9 अप्रेलमा मतदान हुनेछ। त्यस्तै तमिलनाडु, गुजरात र महाराष्ट्रमा 23 अप्रेलमा मतदान गरिनेछ। पश्चिम बंगालमा भने दुई चरणमा मतदान हुनेछ, पहिलो चरण 23 अप्रेल र दोस्रो चरण 29 अप्रेलमा सम्पन्न हुनेछ।
आयोगका अनुसार, जनप्रतिनिधित्व ऐन, 1951 को धारा 135बी अनुसार कुनै पनि संस्था, उद्योग वा व्यवसायमा कार्यरत प्रत्येक मतदाता मतदानको दिन तलबसहित बिदा पाउने अधिकार राख्छ। यदि कुनै रोजगारदाताले यस प्रावधानको उल्लङ्घन गरेमा उसलाई जरिवाना लगाउन सकिनेछ।
आयोगले यो पनि स्पष्ट पारेको छ कि आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर काम गरिरहेका मतदाताले पनि मतदानका लागि तलबसहित बिदा पाउनेछन्, ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सकून्। निर्वाचन आयोगले सबै राज्य तथा केन्द्रशासित प्रदेशलाई यी प्रावधानहरूको कडाइका साथ पालन गराउन निर्देशन दिएको छ, जसले गर्दा सबै मतदाताले बिना कुनै अवरोध आफ्नो मत प्रयोग गर्न सकून्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी