पार्वतीय तराई अनुसूचित जाति सयुंक्त मञ्च गठन
संयुक्त मञ्च


खरसाङ, 03 अप्रेल (हि.स.)। पहाड़ अनि तराईमा बस्ने अनुसूचित जातिद्वारा सञ्चालित विभिन्न संघ संस्थालाई लिएर खरसाङकोे नयाँ बजारस्थित सार्वजनिक भवनमा एउटा संयुक्त सभा सम्पन्न भयो। सभामा सर्वसम्मति अनि सुझाउ अनुसार यस वर्ष बाबा साहेबकोे जन्म जयन्ती भव्य रूपमा मनाउने साथै अनुसुचित जातिकाे हितमा कार्य गर्न एउटा सयुंक्त मञ्च गठन गर्ने निर्णय गरियो।

सभामा उपस्थित संस्थाका प्रतिनिधिकोे सुझाउ अनुरूप पार्वतीय तराई अनुसूचित जाति सयुंक्त मञ्च गठन गरियो। सयुंक्त मञ्चलाई दिघो समयसम्म सुचारु रूपले सञ्चालन गर्न केन्द्रिय समिति पनि गठन गरियो, जसमा उपस्थित सदस्यगणको सर्वसम्मतिले दिपेन सेवालाई संयोजक, रबी तोलंगीलाई अध्यक्ष, कार्यवाहक अध्यक्षद्वय शंकर रावत र गौतम राउत, मूल सचिव संजय राउत, सह सचिव मनिष सेवा, अनिल कुमार वैठा, राजेश कुमार राम धर्म कुमार रविदास , कोषाध्यक्ष दीपसिंह, सह कोषाध्यक्ष गौरी सुन्दास सेवा, सल्लाहकार र कार्यकारी सदस्यहरु चयन गरिएका छन्।

सभामा खरसाङमा बाबा साहेब डा भीमराव अम्बेडकरकाे सालिग स्थापित गर्न सम्बन्धित विभाग तथा जीटीए प्रमुखलाई पत्राचार गर्ने निर्णय गरिएको छ।

श्री दमाई समाजका वरिष्ठ सदस्य श्यामकुमार लोहारकोे अध्यक्षतामा सम्पन्न भएको सभालाई श्री दमाई समाजका मूल सचिव दिपेन सेवाले सञ्चालन गर्दै भने, आजसम्म हामी अनुसूचित जाति जति पनि पहाड अनि तराई क्षेत्रमा बसोबासो गर्छौं चाहे नेपाली भाषी होस् चाहे हिन्दी भाषी हामी सबै नै अनुसूचित जाति कहीं न कहिँ धेरै कुराले वञ्चित भई नै रहेका छौँ। आज हामी एकै मञ्चमा आएर हाम्रो समस्याकाे सामाधानकोे निम्ति पहल गर्न एकत्रित भएर एउटा स्थायी रूप दिन साथै आगामी 14 अप्रेल, 2026 कोे दिन बाबासाहेब भीमराव अम्बेडकर काे 136 वाँ जन्म जयन्ती पनि भव्य अनि सभ्य प्रकारले एकत्रित भएर पालन गर्न यो सभा डाकिएको हो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande