
वाशिङ्टन, 03 अप्रेल (हि.स.)। अमेरिकाका रक्षा सचिव पीट हेगसेथले इरानसँग चलिरहेको युद्धको बीचमा देशका सेना प्रमुख (आर्मी चीफ अफ स्टाफ) जनरल र्यान्डी जर्जलाई पद छोड्न र तत्काल सेवानिवृत्त हुन निर्देशन दिएका छन्। पेन्टागनका मुख्य प्रवक्ता शन पार्नेलले भने, “जर्जले आर्मीका 41औँ चीफ अफ स्टाफ पदबाट तत्काल प्रभावबाट अवकाश लिइरहेका छन्। युद्ध विभाग जनरल जर्जको दशकौँ लामो सेवाका लागि आभारी छ। हामी उहाँलाई उज्ज्वल भविष्यको शुभकामना दिन्छौँ।”
सीबीएस न्यूजको रिपोर्टअनुसार, सेना प्रमुखसँगै आर्मीका अन्य दुई अधिकारी जनरल डेविड होडने र मेजर जनरल विलियम ग्रीनलाई पनि उनीहरूको पदबाट हटाइएको छ। होडने आर्मीको ट्रान्सफर्मेशन तथा ट्रेनिङ कमान्डको नेतृत्व गरिरहेका थिए भने ग्रीन आर्मीको च्याप्लेन कोरका प्रमुख थिए। आर्मी चीफ अफ स्टाफ जर्जले यसअघि 2021 देखि 2022 सम्म (बाइडेन प्रशासनका बेला) रक्षा सचिव लयड अस्टिनका वरिष्ठ सैन्य सहायकका रूपमा काम गरेका थिए। पेशेवर इन्फेन्ट्री अधिकारी तथा वेस्ट पोइन्टबाट स्नातक जर्जले पहिलोपटक खाडी युद्धमा सेवा दिएका थिए र त्यसपछि इराक तथा अफगानिस्तानका संघर्षहरूमा पनि योगदान दिएका थिए।
हेगसेथले अन्य धेरै अधिकारीहरूलाई पनि हटाएका छन्। तीमध्ये जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल सीक्यू ब्राउन, नेवल अपरेशन्सकी प्रमुख एडमिरल लिसा फ्रान्चेटी, एयर फोर्सका उप-चीफ अफ स्टाफ जनरल जेम्स स्लाइफ तथा डिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रूस रहेका छन्।
आर्मी चीफ अफ स्टाफको कार्यकाल सामान्यतया चार वर्षको हुन्छ। जर्जलाई राष्ट्रपति जो बाइडेनले यस पदका लागि मनोनयन गरेका थिए र 2023 मा सिनेटले उनको नियुक्ति अनुमोदन गरेको थियो। यसको अर्थ सामान्य अवस्थामा उनी 2027 सम्म यस पदमा रहने थिए। सेनाका वर्तमान उप-चीफ अफ स्टाफ जनरल क्रिस्टोफर लानेव अब सेनाका कार्यवाहक चीफ अफ स्टाफ हुनेछन्। उनी 2022 देखि 2023 सम्म सेनाको 82औँ एयरबोर्न डिभिजनका कमान्डिङ जनरल रहिसकेका छन्।
पेन्टागनका मुख्य प्रवक्ता शन पार्नेलले भने, लानेव अनुभवी र युद्धमा खारिएका नेता हुन्। उनीसँग दशकौँको अपरेशनल अनुभव छ, र सेक्रेटरी हेगसेथलाई विश्वास छ कि उनले यस प्रशासनका लक्ष्यहरू बिना कुनै त्रुटि पूरा गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी