
चण्डीगढ़, 03 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआपा) का राज्यसभा उपनेता पदबाट हटाइएपछि आहत सांसद राघव चड्ढाले पार्टी हाईकमाण्डविरुद्ध मोर्चा खोल्दै विभिन्न प्रश्न उठाएका छन्। आआपाले राज्यसभा सचिवालयमा राघवको स्थानमा अशोक मित्तललाई नियुक्त गर्न सिफारिस गरेको छ। मित्तल जालन्धरस्थित लवली प्रोफेशनल युनिभर्सिटीका संस्थापक हुन्। पंजाबमा 2024 मा भएको विधानसभा निर्वाचनका क्रममा राघव आपाका प्रमुख अनुहार थिए। पछिल्लो समय उनी पंजाबको राजनीतिबाट टाडा रहेका छन्।
राघव चड्ढाले आज बिहान एक भिडियो जारी गरेका छन्। त्यसमा उनी भन्छन्, “मलाई चुप लगाइएको हो, तर म हारेको छैन। मलाई जब-जब बोल्ने मौका मिल्छ, म आम जनताका मुद्दाहरू उठाउँछु। संसदमा यस्ता विषयमा बोल्छु, जुन सामान्यतया उठाइँदैन।”
उनले प्रश्न उठाए, के जनताका मुद्दा उठाउनु, ती विषयमा बोल्नु अपराध हो? के मैले कुनै गल्ती गरेको छु? चड्ढाले भने, यो प्रश्न उनी त्यसैले उठाइरहेका छन्, किनकि आम आदमी पार्टीले राज्यसभा सचिवालयलाई पत्र लेखेर राघव चड्ढालाई सदनमा बोल्न रोक लगाउन आग्रह गरेको छ। उनलाई बोल्ने मौका नदिन भनिएको छ।
उनले भने, “कसैले मेरो बोलीमा रोक किन लगाउन चाहन्छ? म जब बोल्छु, देशका आम नागरिकका कुरा उठाउँछु। संसदमा विमानस्थलमा पाइने महँगो खानाको विषय उठाएँ, टोल र ब्याङ्क लुटको मुद्दा उठाएँ। मध्यम वर्गमाथि भइरहेको आर्थिक बोझ, टेलिकम कम्पनीहरूले 12 महिनामा 13 पटक रिचार्ज गराउने विषयमा पनि कुरा गरेँ।”
उनले थपे, “यी मुद्दा उठाउँदा आम जनतालाई फाइदा भएको छ, तर आम आदमी पार्टीलाई के नोक्सान भयो? मेरो आवाज किन बन्द गर्न खोजिएको हो? तपाईहरूले मलाई अपार माया दिनुहुन्छ, मेरो हौसला बढाउनुहुन्छ। यसरी नै मेरो साथ दिनुहोस्, नछोड्नुहोस्। म तपाईहरूको हुँ, तपाईहरूकै लागि हुँ। जसले संसदमा बोल्ने अधिकार खोसेका छन्, उनीहरूलाई भन्न चाहन्छु- मेरो मौनतालाई मेरो हार नसम्झिनु, म त्यो नदी हुँ जुन समय आएपछि बाढी बन्छ।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी