
कोलकाता, 03 अप्रेल (हि. स.)। पश्चिम बंगालमा अहिलेघरि गर्मीको प्रभाव निरन्तर बढ़्दो छ। कोलकाता लगायत सम्पूर्ण राज्यभरि नै दिन-रात दुवैको तापमान सामान्यभन्दा अधिक दर्ता गरिँदैछ। मौसम विभाग अनुसार आगामी दिनमा तापमान अझ बढ़्नेछ जसबाट गर्मीसितै आद्रता पनि बढ़्नेछ।
कोलकातामा शनिवारसम्म शुष्क मौसम कायम रहने पूर्वानुमान छ। यस अवधि कोलकाता, हावड़ा, दक्षिण 24 परगना, पश्चिम मेदिनीपुर, पश्चिम बर्दवान, पुरुलिया, बाँकुड़ा र बीरभूम जिल्लामा गर्मी र असहज मौसमको चेतावनी जारी गरिएको छ। अनुमान छ, शनिवारसम्म कोलकाताको अधिकतम तापमान 37 डिग्री सेल्सियस पुग्नसक्छ भने पश्चिम जिल्लाहरूमा यो 40 डिग्री सेल्सियससम्म पुग्नसक्छ।
शुक्रवार कोलकाताको न्यूनतम तापमान 26.2 डिग्री सेल्सियस दर्ता गरियो भने बिहीवार अधिकतम तापमान 35 डिग्री सेल्सियस रह्यो। हाल आगामी दुई दिनसम्म पानी पर्ने सम्भावना छैन।
तथापि आगामी आइतवारदेखि मौसम परिवर्तन हुने संकेत देखिएको छ। आइतवारदेखि मंगलवारबीच राज्यका विभिन्न भागहरूमा मेघ गर्जनसितै हावा-हुन्डरी अनि वर्षा हुनसक्छ। आइतवार झाड़ग्राम, पश्चिम मेदिनीपुर, पुरुलिया, बाँकुड़ा र पश्चिम बर्दवान जिल्लामा कालबैशाखी (हुरी) आउने सम्भावना व्यक्त गरिएको छ भने सोमवार दक्षिण बंगालका सबै जिल्लाहरूमा वर्षा अनि तीव्र हावा चल्ने पूर्वानुमान छ।
उत्तर बंगालमा शुक्रवार र शनिवार पानी पर्ने सम्भावना न्यून छ भने तापमान 3-5 डिग्री सेल्सियससम्म बढ़्नसक्छ। तथापि आइतवारदेखि बुधवारबीच त्यहाँ पनि मौसम परिवर्तन हुनेछ अनि मेघ गर्जनसितै वर्षा हुनसक्छ।आगामी सोमवार उत्तर बंगालका सबै जिल्लाहरूमा हल्का वर्षा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा