इन्दौरमा जन्तीको कार र ट्रक ठोक्किँदा चार युवकको मृत्यु
accident


इन्दौर, ०६ अप्रेल (हि.स.)। मध्य प्रदेशको इन्दौरमा आइतबार अबेर राति दुलही लिएर फर्किरहेको जन्ती बोकेको कार (क्वालिस) लाई पछाडिबाट ट्रकले ठक्कर दियो। देवगुराडिया मार्गमा भएको यस दुर्घटनामा चार युवकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

पुलिसका अनुसार, कारमा ११ जना सवार थिए, जो आष्टाबाट विवाह समारोह सकेर इन्दौर फर्किरहेका थिए। आइतबार राति करिब २:३० बजी देवगुराडियास्थित ट्रेन्चिङ ग्राउन्ड नजिक अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेको ट्रकले कारलाई ठक्कर दिएको हो। ठक्कर यति भीषण थियो कि गाडी पूर्ण रूपमा क्षतिग्रस्त भयो। दुर्घटनामा इरफान (२४), आरिस (२०) र फरहान (१९) को घटनास्थलमै मृत्यु भयो भने अरफाद (२३) ले उपचारका क्रममा ज्यान गुमाए। अन्य पाँच जना गम्भीर घाइते छन् र उनीहरूको उपचार जारी छ।

स्थानीय बासिन्दा र आफन्तका अनुसार, ट्रकमा भूस भरिएको थियो र तीव्र गतिमा चलिरहेको थियो। ओभरटेक गर्ने क्रममा अचानक ब्रेक लगाउँदा दुर्घटना भएको बताइएको छ। पुलिसले सबै पक्षबाट घटनाको अनुसन्धान गरिरहेको छ।

दुर्घटनापछि घटनास्थलमा निकै होहल्ला मच्चियो। छेउछाउका मानिसहरूले तुरुन्तै उद्धार कार्य शुरु गर्दै घाइतेहरूलाई अस्पताल पुर्याए। सबै घाइतेहरूको उपचार एमवाय अस्पतालमा भइरहेको छ। घटनापछि आक्रोशित आफन्त र स्थानीयले सडक अवरुद्ध गर्दै विरोध जनाए। केही व्यक्तिले ट्रकमा आगो लगाउने प्रयास समेत गरेपछि तनाउको अवस्था सिर्जना भएको थियो।

सूचना पाएलगत्तै खुडैल थाना पुलिस घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लियो र सम्झाइबुझाइपछि यातायात पुनः सञ्चालन गरियो। एएसपी रूपेश द्विवेदीका अनुसार, ट्रक चालकसँग सोधपुछ भइरहेको छ र घटनाको विस्तृत अनुसन्धान जारी छ।

जानकारी अनुसार, सबै मृतक र घाइतेहरू एउटै क्षेत्रका बासिन्दा थिए र आष्टाबाट जन्ती लिएर फर्किरहेका थिए। यस दुर्घटनाले धेरै परिवारको खुशी खोसिएको छ र सम्पूर्ण क्षेत्रमा शोकको लहर फैलिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande