
कोलकाता, 09 अप्रेल (हि.स.)। वरिष्ठ काङ्ग्रेस नेता स्वर्गीय एबीए घानी खान चौधरीका भाई तथा पूर्व केन्द्रिय मन्त्री अबु हासेम खान चौधरीको बुधबार राति निधन भएको छ। मृत्युको समयमा उनी 89 वर्षका थिए। उनी लामो समयदेखि बुढ्यौलीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरूबाट पीडित थिए। कोलकाताको एक निजी अस्पतालमा उनले अन्तिम सास फेरे। उनको निधनले विधानसभा चुनाउअघि माल्दा जिल्लाको राजनीतिक क्षेत्रमा शोकको लहर छाएको छ।
अन्तिम समयमा उनकी श्रीमती उनीसँगै अस्पतालमा उपस्थित थिइन्। उनका छोरा तथा काङ्ग्रेस नेता ईशा खान चौधरीले कोलकाताबाट मालदा आइपुगेपछि बुबाको मृत्युको खबर पाए। उनको पार्थिव शरीर आज (बिहिबार) मालदा लगिनेछ। प्रदेश काङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकारसहित अन्य नेताहरूले अस्पताल गएर श्रद्धाञ्जलि अर्पण गरे।
अबु हासेम खान चौधरीको जन्म 12 जनवरी, 1938 मा मालदाको प्रसिद्ध खान चौधरी परिवारमा भएको थियो। उनी आफ्ना जेठा दाज्यु तथा पूर्व केन्द्रीय मन्त्री एबीए घानी खान चौधरीको निर्देशनमा राजनीतिमा प्रवेश गरेका थिए। आफ्नो दाज्युको मृत्युपछि उनले मालदामा काङ्ग्रेस सङ्गठनको जिम्मेवारी सम्हाले र लामो समयसम्म जिल्लाको राजनीतिमा प्रभाव कायम राखे।
उनी सन् 1996 देखि 2006 सम्म कालियाचक विधानसभा निर्वाचन क्षेत्रबाट विधायक थिए। त्यसपछि, उनले सन् 2009 देखि मालदा दक्षिण लोकसभा निर्वाचन क्षेत्रबाट सांसदको रूपमा पनि काम गरे। सन् 2012 मा उनी संयुक्त प्रगतिशील गठबन्धन (युपिए) सरकारको दोस्रो कार्यकालमा मन्त्री बनाइए र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाए।
स्वास्थ्यका कारण उनी केही समयदेखि सक्रिय राजनीतिबाट टाढा थिए र पछिल्लो लोकसभा चुनाउ पनि लडेका थिएनन्। उनको ठाउँमा उनका छोरा ईशा खान चौधरी अहिले माल्दा दक्षिणबाट काङ्ग्रेस सांसद छन्। उनकी भांजी मौसम बेनजिर नूर यस पटक मालतीपुर विधानसभा निर्वाचन क्षेत्रबाट काङ्ग्रेसकी उम्मेदवार हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी