
भोपाल, 17 मई (हि.स.)। मध्य प्रदेशको बैतूल जिल्लामा शनिबार राति भूकम्पको धक्का महसुस गरिएको छ। रिक्टर स्केलमा यसको तीव्रता ३.९ मापन गरिएको थियो। यसबारे जानकारी नेशनल सेन्टर फर सिस्मोलोजीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको छ। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू त्रसित बनेका थिए।
नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार, राति ९ बजेर ३१ मिनेट २ सेकेन्डमा ३.९ तीव्रताको भूकम्प रेकर्ड गरिएको थियो। भूकम्पको केन्द्र बैतूल जिल्लाको मुलताईस्थित मानीखापा गाउँ नजिक रहेको बताइएको छ। यसको गहिराई जमिनबाट करिब १० किलोमिटर तल रहेको जनाइएको छ। उक्त केन्द्र पचमढीबाट करिब ६८ किलोमिटर दक्षिण-दक्षिणपूर्व दिशामा रहेको थियो।
नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार, यसको प्रभाव बैतूल र छिन्दवाडा जिल्लाको सीमासँग जोडिएका क्षेत्रमा पनि महसुस गरिएको थियो। भूकम्पको धक्का सतह नजिकै महसुस भएको बताइएको छ। हालसम्म कुनै प्रकारको मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।
यता, भूकम्पको धक्का महसुस भएपछि मुलताईमा धेरै मानिसहरूले घरका गेट, झ्याल र ढोकाहरू हल्लिएको देखेका थिए। समाजसेवी पाशा खानले राति करिब ९:३१ बजी अचानक कम्पन महसुस भएको र घरको गेट हल्लिन थालेको बताए। त्यसपछि पनि केही समयसम्म हल्का धक्का महसुस भइरहेकाले मानिसहरू घरबाहिर निस्किएका थिए।
भूकम्पको तीव्रता ३.९ रिक्टर स्केल भए पनि केन्द्रको गहिराइ कम भएकाले कम्पन बढी महसुस गरिएको थियो। मुलताई र पांढुर्णासहित धेरै क्षेत्रमा मानिसहरू लामो समयसम्म घरबाहिर उभिएका थिए।
स्थानीयवासीहरूका अनुसार, पछिल्ला केही दिनदेखि क्षेत्रमा हल्का कम्पन महसुस भइरहेको थियो। विशेषज्ञहरूका अनुसार, मुख्य भूकम्पपछि आफ्टरशक्स आउने सम्भावना रहन्छ। त्यसैले मानिसहरूलाई जीर्ण भवनहरूबाट टाढा रहन र सावधानी अपनाउन सुझाउ दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी