
काठमाडौँ, 02 मई (हि.स.)। भारतका विदेश सचिवको नेपाल भ्रमण तय भएको छ। नेपालका विदेश सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल सरकारको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मिस्री ११-१२ मईमा काठमाडौँ आउनेछन्।
नेपालमा बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि भारततर्फबाट हुने यो पहिलो कूटनीतिक भ्रमण हुनेछ। विदेश मन्त्रालयका अनुसार, भारतका विदेश सचिव ११ मईमा काठमाडौँ आइपुग्नेछन्। यसका लागि नेपालका विदेश सचिव अमृतबहादुर राईले औपचारिक निमन्त्रणापत्र पठाइसकेका छन्। आफ्नो काठमाडौँ भ्रमणका क्रममा उनले विदेशमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गर्नेछन्। साथै सत्तारुढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि उनको भेट तय भएको छ।
मिस्रीसँगै भारतको विदेश मन्त्रालयको नर्थ डेस्कका इन्चार्ज अतिरिक्त सचिव मनु महावार पनि नेपाल आउनेछन्।
हालै दिल्ली भ्रमणमा रहेका नेपाली पत्रकारहरूको समूहसँगको भेटमा विदेश सचिव मिस्रीले आफू छिट्टै नेपाल आउने बताएका थिए। उनले नेपालमा नयाँ सरकारसँग सबै क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी