
कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गालको उत्तर 24 परगना जिल्लाको बादुडिया नगरपालिकाको अध्यक्ष तथा तृणमूल काङ्ग्रेसका नेता दीपङ्कर भट्टाचार्य संलग्न भएको मुद्दामा पुलिसले जुटको खेतबाट 2 करोड़ 24 लाख रुपियाँ बरामद गरेको छ। बुधबार साँझदेखि शुरु भएको नोटको गणना रातभरि चलेको थियो। ब्याङ्कका कर्मचारी र विभिन्न विभागका अधिकारीहरूको उपस्थितिमा चार चरणको गणनापछि पूलिसले बिहीबार बिहान बरामद भएको रकम आधिकारिक रूपमा पुष्टि गरेको छ।
पुलिसले सोमबार एउटा होटलबाट दीपङ्कर भट्टाचार्यलाई पक्राउ गरेको थियो। त्यस समयमा पनि उनीबाट करिब 80 लाख रुपियाँ बरामद भएको थियो। मङ्गलबार अदालतले उनलाई 6 दिनको पुलिस हिरासतमा पठाएको छ।
बुधबार पुलिस दीपङ्करलाई लिएर तृणमूल कार्यालय नजिकैको जमिनमा पुगेको थियो। त्यहाँ जुटको खेतमा ठाउँ खन्ने क्रममा झोलामा भरिएको ठूलो रकम बरामद भयो। पुलिसले घटनास्थलबाट चार ट्राली ब्याग र नगदले भरिएको बोरा जफत गरेको छ। प्रत्यक्षदर्शीका अनुसार, सबै ब्यागमा 500 रुपियाँका नोटहरू थिए।
सोमबार राति दीपङ्कर भट्टाचार्यको पक्राउपछि बादुडिया नगरपालिकाको एउटा निष्क्रिय कम्प्युटर सेन्टरबाट करिब 4 हजार सरकारी तिरपाल र 80 लाख रुपियाँ बरामद भएको थियो। यो रकम आवास योजनासँग सम्बन्धित घोटाला वा फिरौतीसँग जोडिएको हुन सक्ने स्थानीय स्तरमा आरोप लागेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी