जलरङ्ग कलाकार मिलिन्द मलिकले गरे गान्तोकमा स्थानीय कलाकारहरूसँग अन्तरक्रिया
मिलिन्द मालिकसँग कलाकारहरू


गान्तोक, 29 मई (हि.स.)। भारतका प्रख्यात जलरङ्ग कलाकार मिलिन्द मलिकले आफ्नो पारिवारिक भ्रमणका क्रममा सिक्किमको गान्तोकमा स्थानीय कलाकारहरूसँग अनौपचारिक अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाए। महाराष्ट्रको पुणे निवासी मलिक एक चर्चित जलरङ्ग कलाकार हुन्, जसका कलाकृतिहरू भारतका विभिन्न स्थान तथा अन्तरराष्ट्रिय प्रदर्शनीहरूमा समेत प्रदर्शन भइसकेका छन्।

कला विद्यार्थी तथा युवा चित्रकारहरूमा गहिरो प्रभाव पार्न सफल मलिकले कार्यक्रममा आफ्ना अनुभव, कलात्मक यात्रा तथा आधुनिक जलरङ्ग चित्रकलाका विभिन्न प्रविधिहरू साझा गरे। जलरङ्ग कलाको विकासबारे बोल्दै मलिकले दक्षिण एसियाली जलरङ्ग परम्परा मुख्यतः चिनियाँ प्रविधिबाट प्रभावित भएको बताए भने भारतमा औपनिवेशिक कालदेखि युरोपेली शैलीको प्रभाव रहेको उल्लेख गरे।

कार्यक्रममा ओभिया आर्ट सर्कल, सिक्किमका महासचिव दिवाकर लामिछाने, कलाकारहरू शिशिर थापा, शिव छेत्री, छिरिङ नामग्याल तथा कवि प्रवीण खालिङ उपस्थित थिए। कार्यक्रममा कला र सिर्जनात्मक विचारहरूबारे जीवन्त छलफल भएको थियो।

अन्तरक्रियाका क्रममा मलिकले स्थलमै एक सुन्दर भू-दृश्य चित्र कोरेर आफ्नो अद्भुत जलरङ्ग कला कौशल प्रदर्शन गरेका थिए, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो। वरिष्ठ कलाकार मलिकले सिक्किमको प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गर्दै हिमाली राज्यलाई भू-दृश्य चित्रकारहरूका लागि स्वर्गको संज्ञा दिए।

भारतका अग्रणी जलरङ्ग कलाकारमध्ये एक मानिने मिलिन्द मलिकले चित्रकलासम्बन्धी १३ वटा पुस्तक लेखिसकेका छन् र आफ्नो सिर्जना तथा शिक्षामार्फत नयाँ पुस्ताका कलाकारहरूलाई प्रेरणा दिइरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande