केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे
गजेन्द्र सिंह शेखावतले सोरेङ जिल्लाको भ्रमण गरे


सोरेङ, 29 मई (हि.स.)। केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले सोरेङ जिल्लाको भ्रमणको दोस्रो दिन आज सोरेङको रुर्बन कम्प्लेक्समा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिए, जसमा जनप्रतिनिधिहरू, जिल्लाका अधिकारीहरू, सरोकारवालाहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

केन्द्रिय मन्त्री शेखावतले आफ्नो सम्बोधनमा भारतका प्रधानमन्त्रीले परिकल्पना गरेका विकसित भारत को दृष्टिकोणमाथि प्रकाश पार्दै प्रत्येक नागरिकको सामूहिक दृढ संकल्प र सहभागिता यस अभियानलाई प्राप्त गर्न महत्वपूर्ण रहेको बताए। देशभरका धेरै जिल्लाहरूले सामना गरिरहेका चुनौतीहरूबारे बोल्दै उनले विकासलाई तीव्र पार्ने उद्देश्यले केन्द्रित र प्रतिस्पर्धात्मक दृष्टिकोण मार्फत विकासात्मक अभावहरूलाई पूरा गर्न आकांक्षी जिल्ला कार्यक्रम शुरु गरिएको बताए।

उनले यस कार्यक्रम अन्तर्गत स्वास्थ्य र पोषण, शिक्षा, कृषि र जलस्रोत, वित्तीय समावेशीकरण, सीप विकास र पूर्वाधार विकास प्रमुख केन्द्रित क्षेत्रहरू रहेको जानकारी गराए। केन्द्रिय मन्त्री शेखावतले राष्ट्र हाल परिवर्तनको चरणबाट पार भइरहेको अवगत गराउॅंदै सबै सरोकारवालाहरूलाई विकसित भारतको दृष्टिकोणमा सक्रिय रूपमा योगदान दिन आग्रह गरे। उनले जिल्ला प्रशासन, जनप्रतिनिधि र नागरिकहरूलाई सामूहिक रूपमा काम गर्न प्रोत्साहित गर्दै आकांक्षी जिल्लालाई प्रेरणादायी जिल्लामा विकसित गर्न प्रोत्साहित गरे।

उत्तरपूर्वी क्षेत्रको महत्त्वलाई प्रकाश पार्दै उनले उत्तरपूर्वलाई लिएर धारणामा उल्लेखनीय परिवर्तन आएको र यो क्षेत्रले अब राष्ट्रको एक महत्त्वपूर्ण विकास इन्जिनको रूपमा मान्यता प्राप्त गरिरहेको बताए। पर्यटनको बारेमा बोल्दै उनले पर्यटन विकासलाई परिवर्तनशील विश्वव्यापी धारणा र उदीयमान प्रवृत्तिहरू अनुरुप अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए। उनले प्रकृतिमा आधारित पर्यटन, कल्याण पर्यटन, कार्यक्रममा आधारित पर्यटन र अनुभवात्मक पर्यटनको प्रवर्द्धनलाई यस क्षेत्रको लागि अपार सम्भावना भएका प्रमुख क्षेत्रहरू बताए।

यस अतिरिक्त, शेखावतले आत्मनिर्भरताप्रति राष्ट्रको प्रतिबद्धता दोहोर्‍याए र नागरिकहरूलाई विदेशी मुद्रा बहिर्गमन हुने अनावश्यक खर्चप्रति सचेत रहन आग्रह गरे। उनले सोरेङ जिल्लालाई आकांक्षीबाट प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न सबै सरोकारवालाहरूलाई शुभकामना पनि दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande