
दार्जिलिङ, 29 मई (हि.स.)। दार्जिलिङ पहाडमा अमृत योजना र जीटीएमा भएको कथित धाँधलीको राज्य सरकारले जॉंच गराउने भएको छ। मुख्यमन्त्री सुभेन्दु अधिकारीले आज नवान्नमा दार्जिलिङका सांसद राजु विष्ट, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङ र महासचिव रोशन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन्।
उनले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताको पनि जाँच गरिने बताए। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँडै दार्जिलिङको भ्रमण गर्ने उनले बताए। मुख्यमन्त्रीले सम्बन्धित महकुमा शासकहरूले चुनाउ नभइञ्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको बताए।
उनले दार्जिलिङ पहाडका बन्द 10 वटा चिया बगानहरूलाई खोलाउने तथा त्यहाँका श्रमिकहरूको हित रक्षा गरिने पनि बताए। उनले तराई, डुवर्स र दार्जिलिङ पहाडका चिया श्रमिकहरूले न्याय पाउने विश्वास दिलाए। उनले कालेबुङमा एउटा मेडिकल कलेज खोलिने र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जमीन चिन्हित गर्ने निर्देश दिइएको बताए।
हिन्दुस्थान समाचार / हनोक