
गान्तोक, 29 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज राजधानीको सम्मान भवनमा लाचेन सडक सम्पर्क समस्यालाई लिएर एक बैठक आयोजन गरियो। बैठकमा मन्त्री साम्डुप लेप्चा, पिपन, लाचेन जुम्साका प्रतिनिधिहरू, मुख्य सचिव, बीआरओ परियोजना स्वस्तिक र २७ माउन्टेन डिभिजनका वरिष्ठ अधिकारीहरू, मङ्गनका जिल्लापाल तथा सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति थियो।
उत्तर सिक्किमको लाचेन सडक सम्पर्क समस्यालाई सम्बोधन गर्न आयोजित बैठकमा यस मुद्दासँग सम्बन्धित गुनासो, चुनौतीहरू र सम्भावित समाधानहरूको बारेमा विस्तृत छलफल गरिएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जानकारी गराएका छन्।
बैठकमा व्यापक छलफलपछि र उपस्थित सबै सरोकारवालाहरूको सहमतिमा मुख्यमन्त्रीले सेनाका अधिकारीहरूलाई अस्थायी सडक पुनर्स्थापना र मर्मत कार्यहरू जारी राख्न र 15 जुलाईसम्ममा पूरा गर्न निर्देशन दिए। यसबाहेक, स्थलगत निरीक्षण गर्न, स्थायी र दिगो समाधान सिफारिस गर्न एक उच्च-स्तरीय समिति गठनको लागि पनि निर्देशन जारी गरिएको छ। प्राविधिक सम्भाव्यता र विशेषज्ञहरूको मूल्याङ्कनको आधारमा सुरुङ निर्माणको प्रस्तावमाथि पनि विचार गर्न सकिने बताइएको छ।
मुख्यमन्त्रीले यो विषयलाई अत्यन्त गम्भीरता र प्राथमिकताका साथ अनुगमन भइरहेको लाचेनका जनतालाई आश्वस्त गरे।यस सम्बन्धमा आफुले भारतका प्रधानमन्त्रीलाई यो लामो समयदेखि विचाराधीन मुद्दालाई उजागर गर्दै लेखिसकेको र रक्षामन्त्रीलाई व्यक्तिगत रूपमा भेट्ने प्रयास पनि गर्ने बताए।
उनले यो मुद्दा लाचेनका जनताको कल्याण र सम्पर्कसँग मात्र सम्बन्धित नभई राष्ट्रिय सुरक्षा र पर्यटनसँग पनि सम्बन्धित रहेकाले दुवै राज्य अनि राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल