
गान्तोक, 29 मई (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा आज पहाडका तीनजना विधायक र एनडीए गठबन्धन दलका नेताहरूको एक प्रतिनिधिमण्डलले पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीसँग शिष्टाचार भेट गरे।उक्त जानकारी खरसाङका विधायक सोनाम लामाले एक भिडियो सन्देशमा दिएका छन्।
उनले बैठकमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी लगायतका नेताहरूको उपस्थिति रहेको बताए। उनले यस भेटका क्रममा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रसँग सम्बन्धित विभिन्न जनसरोकारका विषयहरू, विकासका मुद्दाहरू तथा क्षेत्रका दीर्घकालीन समस्या र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको बताएका छन्।
साथै, क्षेत्रको समग्र विकास, जनताको आकांक्षा तथा विभिन्न महत्त्वपूर्ण मुद्दाहरूको समाधानका लागि राज्यका मुख्यमन्त्रीको मार्गदर्शन र सहयोगको अपेक्षा व्यक्त गरिएको उनले बताए। खरसाङका विधायक लामाले भने, हामी विश्वस्त छौं कि केन्द्र र राज्य सरकारबीचको समन्वय तथा सकारात्मक सहकार्यबाट दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताका हितमा थप प्रभावकारी कार्यहरू अगाडि बढ्नेछन्।
हिन्दुस्थान समाचार / हनोक