
गान्तोक, 30 मई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले राज्यका एक वरिष्ठ नेता एमबी बागदासको मृत्यु भएकोमा शोक व्यक्त गरेको छ। स्वर्गीय बागदास ९४ वर्षका थिए र विगत केही समयदेखि उपचाराधिन थिए।
एसडीएफ पार्टीले आज वरिष्ठ नेता एमबी बागदासको मृत्युमा शोक व्यक्त गर्दै स्वर्गीय बागदासले आफ्नो राजनैतिक जीवनकालमा एसडीएफ पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गरेको बताएको छ। पार्टी संगठनका विभिन्न पदभारहरु सम्हाल्नुसँगै उनले अनुसूचित जाति विकास बोर्डको अध्यक्षको जिम्मेवारी पनि कुशतलापूर्वक निर्वहन गरेको एसडीएफले जनाएको छ।
एसडीएफले भनेको छ, 'उहाँको जीवन संघर्षले भरिएको भएपनि सिक्किम र सिक्किमेली जनताको पक्षमा निडरतापूर्वक उभिनुभएको थियो। वहाँ सिक्किमको राजाकालदेखि प्रजातान्त्रिक व्यवस्थाको एक साक्षी भएकाले सिक्किमको राजनीतिमा वहाँ इतिहास जस्तै हुनुहुन्थ्यो। उहाँको निधनले सिक्किमले एक इतिहास पुरुष गुमएको अनुभुत हुँदछ। उहाँको धामगमनले सिक्किमका लागि अपुरणीय क्षति भएको एसडीएफ पार्टी ठान्दछ।'
एसडीएफले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो दु:खद पीडा सहन गर्ने शक्ति इश्वरले प्रदान गरुन् भनी कामना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल