
तेहरान/मनामा/वाशिङ्टन, १० जून (हि.स.)। इरान र अमेरिकाबीच शुरु भएको द्वन्द्व फारसको खाडीस्थित बहराइनको राजधानी मनामासम्म पुगेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले दक्षिणी इरानमाथि भएको अमेरिकी आक्रमणको जवाफस्वरूप बुधबार बिहान (यूएई समयअनुसार) मनामास्थित अमेरिकी नौसेना केन्द्रिय कमान मुख्यालयमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले मंगलबार आत्मरक्षाको जवाफमा दक्षिण इरानमाथि आक्रमण गरेको जनाएको छ। उक्त कारबाही सोमबार होर्मुज जलडमरूमध्यमाथि अमेरिकी अपाचे लडाकु हेलिकोप्टर खसालिएको घटनाको प्रत्युत्तरस्वरूप गरिएको बताइएको छ।
अल जजिरा, सीबीएस न्युज, गल्फ न्युज र एबीसी न्युजका अनुसार, तेहरानका अधिकारीहरूले सम्भावित आक्रमणको सामना गर्न देशको वायु रक्षा प्रणाली सक्रिय गरिएको बताएका छन्। उनीहरूले बुशहर क्षेत्रमा एउटा हेलिकोप्टर र अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी पनि गरेका छन्।
यसैबीच, आईआरजीसी तथा खतम अल-अम्बिया मुख्यालयले केही अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरिएको पुष्टि गरेका छन्। यद्यपि, उनीहरूले स्पष्ट रूपमा उल्लेख गरेको स्थान भने बहराइनको राजधानी मनामास्थित अमेरिकी नौसेना केन्द्रिय कमान मुख्यालय मात्र हो।
इरानमा खतम अल-अम्बिया देशको महत्वपूर्ण सैन्य कमान मानिन्छ। यसलाई आईआरजीसीअन्तर्गत सशस्त्र बल, नियमित सेना र गुप्तचर निकायहरूबीच सैन्य सञ्चालन तथा रणनीतिक रक्षा–आक्रमण कार्यहरूको समन्वय गर्ने सर्वोच्च केन्द्रका रूपमा हेरिन्छ।
हालसम्म इरानले कति ड्रोन प्रयोग गरेर उक्त अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको हो भन्ने स्पष्ट भएको छैन। आक्रमणमा मिसाइल प्रयोग गरिएको थियो वा थिएन भन्ने विषय पनि खुलाइएको छैन। खतम अल-अम्बियाको वक्तव्यमा दक्षिण इरानमाथि अमेरिकी आक्रामकताको जवाफमा इरानी सेना र आईआरजीसीले संयुक्त रूपमा क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा शक्तिशाली आक्रमण गरेको उल्लेख गरिएको छ।
वक्तव्यमा अमेरिका पुनः इरानविरुद्ध आक्रामक गतिविधिमा उत्रिए क्षेत्रका सबै अमेरिकी सैन्य अड्डामाथि अझ ठूलो र कडा आक्रमण गरिने चेतावनी दिइएको छ।
उता सेन्टकमले मंगलबार राति जारी गरेको वक्तव्यमा अपाचे हेलिकोप्टर खसालिएको घटनाको जवाफस्वरूप गरिएको सैन्य कारबाही सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानले होर्मुज जलडमरूमध्य नजिक दुर्घटनाग्रस्त भएको हेलिकोप्टर खसालेको दाबी गर्दै त्यसको कडा जवाफ दिइने बताएका थिए। उनले दुवै पाइलट सुरक्षित उद्धार गरिएको जानकारी पनि दिएका थिए।
यसअघि ट्रम्पले इरानसँगको सम्भावित सम्झौता अन्तिम चरणमा पुगेको र “दुई वा तीन दिनभित्र” सम्झौता हुन सक्ने बताएका थिए। तर अपाचे घटनापछि वार्ता कुन अवस्थामा पुगेको छ भन्ने स्पष्ट छैन।
उता इजरायलले लेबनानमा इरान समर्थित समूह हिजबुल्लाह विरुद्ध सैन्य अभियान जारी राखेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिण शहर टायरमा मंगलबार भएका नयाँ आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। इरानले सोमबार लेबनानमा इजरायलको कुनै पनि नयाँ आक्रमणको जवाफ दिने चेताउनी दिएको थियो।
तेहरानका अधिकारीहरूले होर्मुज जलडमरूमध्य नजिक इरानको दक्षिण तटीय क्षेत्रमा भएका विस्फोटपछि अहिले स्थिति सामान्य बन्दै गएको बताएका छन्। अमेरिकी डिजिटल समाचार माध्यम एक्सियोसका अनुसार, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपास इरानका धेरै वायु रक्षा प्रणाली र राडार केन्द्रहरूमा आक्रमण गरेको छ। त्यसपछि इरानका विदेशमन्त्री अब्बास अरागचीले जवाफी कारबाहीको चेताउनी दिएका छन्।
बहराइनको गृह मन्त्रालयले बुधबार देशभर उच्च सतर्कता जारी गरिएको जनाएको छ। मन्त्रालयले एक्समार्फत् सायरन बजाइएको र नागरिक तथा विदेशी बासिन्दालाई शान्त रहँदै नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
आईआरजीसीका अनुसार, बुधबार बिहान करिब २:३० बजी (स्थानीय समय) ‘शहेद–१३६’ आत्मघाती ड्रोनमार्फत बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौं बेडाको मुख्यालयलाई निशाना बनाइएको थियो।
विदेशमन्त्री अरागचीले अमेरिकी सेना क्षेत्र छाडेर जानु नै सबैका लागि उचित हुने बताएका छन्। उनले अमेरिका अब इरानको धैर्यको परीक्षा नलिन चेताउनी दिँदै “इरानको सहनशीलताको बाँध अब टुटिसकेको छ” बताएका छन्।
किन महत्वपूर्ण छ अमेरिकी पाँचौं बेडा?
संयुक्त राज्य अमेरिकाको पाँचौं नौसैनिक बेडा मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको प्रमुख आधार हो। यसको मुख्यालय बहराइनको राजधानी मनामास्थित जुफैर क्षेत्रमा रहेको नेभल सपोर्ट एक्टिभिटी बहराइन सैन्य अड्डामा अवस्थित छ।
यसले करिब २५ लाख वर्ग माइल समुद्री क्षेत्रको निगरानी गर्छ। यसको कार्यक्षेत्रमा फारसको खाडी, लाल सागर, ओमानको खाडी, अरब सागर तथा हिन्द महासागरका केही भाग पर्छन्।
यसको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी होर्मुज जलडमरूमध्य, स्वेज नहर र बाब-अल-मन्देब जस्ता विश्वका अत्यन्त संवेदनशील समुद्री मार्गहरूबाट हुने तेल आपूर्ति तथा अन्तरराष्ट्रिय जल यातायातको सुरक्षा सुनिश्चित गर्नु हो। यही अड्डा अमेरिकी नौसेना केन्द्रिय कमानको मुख्यालय पनि हो र यसले प्रत्यक्ष रूपमा अमेरिकी सेन्टकमलाई रिपोर्ट गर्छ।
हिन्दुस्थान समाचार / बिशाल