‘सत्यको नजिक रहने कथाहरू नै दर्शकसँग जोडिन्छन्’: मनोज बाजपेयी
मनोज बाजपेयी। फोटो सोर्स एक्स


लोकेश चन्द्र

हिन्दी सिनेमाका उत्कृष्ट अभिनेतामध्ये एक मानिने मनोज बाजपेयीले आफ्नो तीन दशक लामो करियरमा अनेक स्मरणीय पात्रहरू निर्वाह गरेका छन्। यसपटक उनी फिल्म ‘गभर्नर’ मा भारतका पूर्व रिजर्भ ब्याङ्क गभर्नर एस. वेंकिटरमणनको भूमिकामा देखिँदैछन्। १२ जूनमा प्रदर्शनमा आएको यस फिल्मले सन् १९९१ को आर्थिक संकट र त्यस समयमा गरिएका महत्वपूर्ण निर्णयहरूको कथा प्रस्तुत गर्छ। फिल्म, पात्रको तयारी, निर्देशन, अर्थशास्त्र, पुरस्कार र बक्स अफिसलगायत विभिन्न विषयमा मनोज बाजपेयीसँग गरिएको कुराकानीका प्रमुख अंश:

प्रश्न: एस. वेंकिटरमणनका निर्णयहरूलाई तपाईं कत्तिको साहसिक मान्नुहुन्छ?

म यसलाई केवल साहसी मात्र नभई अत्यन्तै जोखिमपूर्ण र दूरदर्शी निर्णय भन्न चाहन्छु। उहाँले देश पुगेको अवस्थालाई बुझ्नुभएको थियो र परम्परागत उपायहरूले समस्या समाधान नहुने निष्कर्षमा पुग्नुभएको थियो। जसरी कुनै परिवारले संकटको समयमा आफ्नो सञ्चित सम्पत्तिसमेत प्रयोग गर्छ, त्यही सोचलाई उहाँले राष्ट्रको स्तरमा लागू गर्नुभयो। यस्ता निर्णय लिन सजिलो हुँदैन, तर कहिलेकाहीँ परिस्थितिले नै जोखिम उठाउन बाध्य बनाउँछ।

प्रश्न: त्यस समयमा राजनीतिक समर्थन प्राप्त गर्न गाह्रो थियो?

निश्चय नै। देशको सुन धितो राख्ने निर्णय केवल आर्थिक विषय मात्र थिएन, यो भावनात्मक विषय पनि थियो। जनता र राजनीतिक नेतृत्व दुवैलाई यस्तो निर्णय स्वीकार गराउन सजिलो थिएन। तर देश गम्भीर आर्थिक संकटमा थियो र अन्ततः त्यही निर्णयले देशलाई संकटबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेल्यो।

प्रश्न: पात्रको भाषा र बोल्ने शैलीमा कसरी काम गर्नुभयो?

यो भूमिकाको सबैभन्दा चुनौतीपूर्ण पक्षहरूमध्ये एक थियो। हामीले देखाउनुपर्ने थियो कि उहाँ दक्षिण भारतबाट आउनुहुन्छ, तर साथसाथै एक शिक्षित र वरिष्ठ प्रशासक पनि हुनुहुन्छ। भाषा यति फरक हुन सक्दैनथ्यो कि दर्शकसँग दूरी बढोस्, र यति सामान्य पनि हुन सक्दैनथ्यो कि पात्रको मौलिक पहिचान हराओस्। त्यो सन्तुलन कायम गर्न निकै मेहनत गर्नुपर्यो।

प्रश्न: पात्रका लागि अरू कस्तो तयारी गर्नुपर्यो?

तयारी निरन्तर चलिरहने प्रक्रिया हो। अनुसन्धान, छलफल, भिडियो हेर्ने र पढ्ने काम निरन्तर भइरहन्छ। म अर्थशास्त्रको विद्यार्थी होइन, त्यसैले विषयवस्तु बुझ्न पर्याप्त समय दिनुपर्यो। साथै पात्रको शारीरिक हाउभाउ र मानसिक अवस्थामाथि पनि काम गरियो, किनभने त्यसैले पात्रलाई विश्वसनीय बनाउँछ।

प्रश्न: के अझै पनि धेरै पात्रहरू निभाउन बाँकी छन् जस्तो लाग्छ?

अवश्य। सडकमा हिँडिरहेको प्रत्येक व्यक्ति मलाई सम्भावित पात्रजस्तै लाग्छ। हरेक मानिसको आफ्नै कथा हुन्छ। ती सबै कथाहरू बाँच्नका लागि सायद एउटा जीवन पर्याप्त हुँदैन। तर सन्तोषको कुरा के हो भने मैले सधैं फरक-फरक पात्र निभाउने प्रयास गरेको छु।

प्रश्न: निर्देशक चिन्मय माण्डलेकर यो परियोजनासँग कसरी जोडिनुभयो?

यो स्क्रिप्ट मलाई धेरै वर्षअघि प्राप्त भएको थियो। कथा मन परेको थियो, तर अर्थशास्त्रजस्तो विषयमा फिल्म कसरी बनाइन्छ भन्ने जिज्ञासा पनि थियो। पछि मैले चिन्मयको नाम प्रस्ताव गरेँ। उहाँले महिनौँसम्म अनुसन्धान गर्नुभयो, लेखकहरूसँग काम गर्नुभयो र स्क्रिप्टलाई अझ सशक्त बनाउन निकै मेहनत गर्नुभयो। प्रारम्भिक फुटेज हेरेपछि सम्पूर्ण टोलीको विश्वास अझ बलियो बन्यो।

प्रश्न: के फिल्महरूको जिम्मेवारी इतिहास र समाजका कथाहरू प्रस्तुत गर्नु हो?

म यसलाई जिम्मेवारीभन्दा पनि व्यक्तिगत रोजाइ मान्छु। मेरो विश्वास छ कि दर्शक सधैं प्रामाणिक कथाहरूसँग जोडिन्छन्। चाहे त्यो हास्यप्रधान होस् वा गम्भीर विषयमा आधारित, यदि त्यसमा जीवनको सत्यता छ भने दर्शकहरूले त्यसलाई महसुस गर्छन्।

प्रश्न: कहिलेकाहीँ पूरै फिल्मको दबाउ आफ्नै काँधमा रहेको महसुस हुन्छ?

मेरो ध्यान सधैं आफ्नो अभिनयमा केन्द्रित हुन्छ। म हरेकपटक आफूले पात्रसँग पूर्ण इमानदारी गरेको छु कि छैन भनेर सोच्ने गर्छु। आफूलाई दोहोर्याउनबाट जोगिनु नै मेरो लागि सबैभन्दा ठूलो चुनौती र दबाउ दुवै हो।

प्रश्न: के यो फिल्मले दर्शकलाई अर्थशास्त्र बुझ्न मद्दत गर्नेछ?

दर्शकले सबै आर्थिक शब्दावली बुझ्नैपर्छ भन्ने छैन। तर उनीहरूले यति अवश्य बुझ्नेछन् कि पर्दा पछाडि यस्ता व्यक्तिहरू हुन्छन् जसका निर्णयहरूले सामान्य मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छन्। हाम्रो दैनिक जीवनका धेरै पक्ष त्यस्ता निर्णयहरूमै निर्भर हुन्छन्।

प्रश्न: २०२४ मा विदेशबाट सुन फिर्ता ल्याइएको घटनालाई कसरी हेर्नुहुन्छ?

सरकारहरूले समय-समयमा यस्ता निर्णयहरू लिइरहन्छन्। तर यस कथाको केन्द्र त्यो ऐतिहासिक क्षण हो, जब देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न एक व्यक्तिले ठूलो जोखिम उठाएका थिए। त्यही निर्णयले पछि अनेक परिवर्तनहरूको आधार तयार गर्यो।

प्रश्न: अभिनेता-निर्देशकसँग काम गर्दा के फाइदा हुन्छ?

सबैभन्दा ठूलो फाइदा के हो भने उहाँले कलाकारका चुनौतीहरू राम्रोसँग बुझ्नुहुन्छ। चिन्मय स्वयं अभिनेता भएकाले क्यामेराअघि कलाकारले सामना गर्ने परिस्थितिहरूबारे उहाँलाई राम्रो ज्ञान छ। यही समझले कामलाई सहज बनाउँछ।

प्रश्न: ‘डिस्प्याच’ जस्तो फिल्म गर्नुपर्ने कारण के थियो?

किनभने त्यो उत्कृष्ट फिल्म हो। मलाई सधैं बलियो पात्र र प्रभावशाली कथावस्तु भएका कथाहरूले आकर्षित गर्छन्। अन्ततः मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा त्यही हो।

प्रश्न: धेरै पुरस्कार पाएपछि दबाउ बढ्छ?

पुरस्कारहरू त्यो साँझसम्म राम्रो लाग्छन्, त्यसपछि तिनको महत्व पछाडि छुट्छ। छायांकनको क्रममा तपाईंको अगाडि केवल पात्र हुन्छ। त्यहाँ पुरस्कार होइन, तपाईंको काम र तयारीले महत्व राख्छ।

प्रश्न: दर्शकहरूका लागि तपाईंको सन्देश?

बक्स अफिसका तथ्याङ्कहरूले मलाई कहिल्यै धेरै प्रभावित गर्दैनन्। मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको कथा र पात्र पूर्ण सत्यता तथा इमानदारीका साथ दर्शकसम्म पुग्नु हो। यदि फिल्म हेरेपछि दर्शकले केही अनुभूति गर्छन् र केही कुरा साथमा लिएर जान्छन् भने त्यही नै सबैभन्दा ठूलो सफलता हो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande