
नयाँ दिल्ली, १९ जून (हि.स.)। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल सचेतना दिवसका अवसरमा स्वस्थ र अझ समानतामूलक भारत निर्माणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन देशवासीहरूलाई आह्वान गरेका छन्।
उनले आज एक्समार्फत विश्व सिकल सेल सचेतना दिवसको शुभकामना दिँदै राष्ट्रिय सिकल सेल एनीमिया उन्मूलन मिशन अन्तर्गत उल्लेखनीय प्रगति हासिल भएको बताएका छन्।
मन्त्री नड्डाका अनुसार, हालसम्म ७ करोड़ १९ लाखभन्दा बढी मानिसहरूको स्वास्थ्य परीक्षण गरिएको छ भने २० लाख २६ हजारभन्दा बढी सिकल सेल वाहक (क्यारियर) पहिचान गरिएका छन्। साथै २ लाख ४६ हजारभन्दा बढी व्यक्तिमा सिकल सेल रोगको निदान गरिएको छ र ४ करोड ८२ लाख सिकल सेल कार्ड वितरण गरिएको छ।
उनले यी उपलब्धिहरू विशेषगरी आदिवासी समुदाय तथा अन्य कमजोर वर्गहरूमा प्रारम्भिक पहिचान, समयमै उपचार, आनुवंशिक परामर्श र व्यापक स्वास्थ्य सेवा सुनिश्चित गर्न गरिएका सामूहिक प्रयासहरूको परिणाम भएको बताए।
केन्द्रिय मन्त्री नड्डाले सिकल सेल रोगबारे जनचेतना अभिवृद्धि गर्न तथा प्रभावित व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार निरन्तर सक्रिय रहेको उल्लेख गरे। उनले सबै सरोकारवालाहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सन् २०४७ सम्म सिकल सेल रोगलाई सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा समाप्त गर्ने लक्ष्य हासिल गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी