मणिपुरमा सुरक्षा बलद्वारा अपहृत व्यक्तिको उद्धार, नौ उग्रवादी पक्राउ
पक्राउ परेका उग्रवादीहरू


इम्फाल, १९ जून (हि.स.)। मणिपुरमा सुरक्षा बल र पुलिसले विभिन्न अभियानमार्फत ठूलो सफलता हासिल गर्दै एक अपहृत व्यक्तिलाई सकुशल उद्धार गरेका छन् भने विभिन्न उग्रवादी संगठनसँग आबद्ध नौ सक्रिय क्याडरलाई पक्राउ गरेका छन्।

शुक्रबार सार्वजनिक गरिएको आधिकारिक जानकारीअनुसार, तेङ्नौपाल जिल्ला अन्तर्गत मोरेह थाना क्षेत्रको गेट नम्बर १ क्षेत्रबाट सुरक्षा बलले बिहीबार ५० वर्षीय नगामसोम बैतेलाई सकुशल उद्धार गरेको हो। बी. बोंगजाङ गाउँ निवासी बैतेलाई पीएसएचसँग आबद्ध शंकास्पद उग्रवादीहरूले अपहरण गरेको बताइएको छ। उद्धारपछि उनलाई परिवारको जिम्मा लगाइएको छ।

यसैबीच, सुरक्षा बलले काकचिङ जिल्ला का विभिन्न स्थानबाट केसीपी (एमएफएल) का चार सक्रिय क्याडरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोइराङथेम तोन्डोम्बा सिंह उर्फ टेमे (४४), वाहेङ्बाम इनाओ सिंह उर्फ ज्याक (४६), नोङ्मैथेम डेभिड मैतेई (४२) र माईबाम लोकेन्द्र सिंह (३८) रहेका छन्। पुलिसका अनुसार, उनीहरू जबर्जस्ती रकम असुली (रंगदारी) तथा अवैध हतियार आपूर्ति सञ्जालमा संलग्न थिए।

त्यसैगरी, इम्फाल पूर्व जिल्लाबाट केसीपी (पीडब्ल्यूजी) का चार सक्रिय क्याडर पक्राउ परेका छन्। उनीहरूमाथि इम्फाल पूर्वका विभिन्न स्थान, विशेष गरी ब्रह्मापुर नहाबाम बामोन लैकाईस्थित एक घरमा ह्यान्ड ग्रेनेड राखेको आरोप छ। पक्राउ पर्नेहरू हुइद्रोम पालिन्बा सिंह उर्फ नानाओ (१९), पेबाम रोशन सिंह (१८), नामेइराकपाम जित्सोन मैतेई (१९) र माइमोम लेम्बा मैतेई (२८) हुन्।

अर्को अभियानमा सुरक्षा बलले बिष्णुपुर जिल्लाको मोइराङ थाना क्षेत्रबाट केसीपी (पीडब्ल्यूजी) का सक्रिय क्याडर हेमाम लाइङ्गम मैतेई उर्फ नगाम्बा (३३) लाई पक्राउ गरेको छ।

यसअघि १६ जुनमा सञ्चालन गरिएको अर्को अभियानमा आरपीएफ/पीएलए का सक्रिय सदस्य अराम्बाम सनायाइमा मैतेई उर्फ अली (४८) लाई इम्फाल पूर्व जिल्लाको लामलाई थाना क्षेत्रअन्तर्गत काङ्ला साङ्गोमशाङ आवाङ लैकाईबाट पक्राउ गरिएको थियो।

सुरक्षा एजेन्सीहरूले राज्यमा उग्रवादी गतिविधि, रंगदारी असुली तथा अवैध हतियार सञ्जालमाथि नियन्त्रण गर्न यस्ता अभियानहरू निरन्तर जारी रहने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande