
भुवनेश्वर, २० जून (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ओडिशाको मयूरभञ्ज जिल्लाको एकदिने भ्रमणमा पुगेका छन्। प्रधानमन्त्री भारतीय वायुसेनाको विशेष हेलिकप्टरमार्फत मयूरभञ्जको पहाडपुर गाउँस्थित हेलिप्याडमा अवतरण गरेका थिए। त्यहाँ ओडिशाका राज्यपाल हरि बाबू कंभमपटि, मुख्यमन्त्री मोहन चरण माझी, वरिष्ठ मन्त्रीहरू तथा प्रशासनिक अधिकारीहरूले उनको स्वागत गरेका थिए।
प्रधानमन्त्रीको स्वागतका लागि ठूलो संख्यामा स्थानीय बासिन्दाहरू पनि हेलिप्याड क्षेत्रमा उपस्थित भएका थिए। त्यसपछि कडा सुरक्षा व्यवस्थाबीच विशेष काफिलासहित प्रधानमन्त्री पहाडपुर गाउँ पुगे, जहाँ राष्ट्रपति द्रौपदी मुर्मू पहिलेदेखि नै उपस्थित थिइन्। राष्ट्रपति आफ्नो जन्मदिनको अवसरमा आफ्नो ससुराली गाउँ पहाडपुर पुगेकी थिइन्।
त्यसपछि राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीले संयुक्त रूपमा विभिन्न कार्यक्रममा सहभागिता जनाए। दुवै नेताले सान्थाली जाहेरा र हो जाहेरा जस्ता पवित्र धार्मिक स्थलहरूमा पूजा-अर्चना गरे। साथै, उनीहरूले एक सीप विकास केन्द्र तथा पहाडपुर एसएलएस मेमोरियल विद्यालयको पनि अवलोकन गरे।
भ्रमणका क्रममा शिक्षा, सीप विकास तथा सामाजिक-आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्ने प्रयासहरूमा विशेष जोड दिइएको थियो। विशेषगरी जनजातीय समुदायका युवाहरूलाई शिक्षा र रोजगारीका अवसरसँग जोड्ने विषयमा छलफल भएको बताइएको छ।
निर्धारित कार्यक्रमअनुसार, राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदी मयूरभञ्ज जिल्लाको रायरंगपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुनेछन्। ओडिशा सरकारको दुई वर्ष पूरा भएको अवसरमा आयोजित उक्त कार्यक्रमको मूल नारा “विकासको धारा, ओडिशा सारा” राखिएको छ।
यस अवसरमा ४७ हजार ६ सय करोड़ रुपियाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरिनेछ। प्रधानमन्त्री मोदीले कार्यक्रममा सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ।
यो भ्रमण ओडिशाका विशेषगरी जनजातीय तथा ग्रामीण क्षेत्रमा शिक्षा, सीप विकास र पूर्वाधार विस्तारलाई तीव्रता दिने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी