
मुम्बई, २० जून (हि.स.)। महाराष्ट्रको गणपतिपुले समुन्द्र तटमा शनिबार घुम्न आएका छत्रपति संभाजीनगरका ८ जना पर्यटकमध्ये ५ जना समुद्रमा बेपत्ता भएका छन् भने ३ जनालाई सकुशल उद्धार गरिएको छ। बेपत्ता व्यक्तिहरूको खोजीका लागि रत्नागिरी पुलिसर गोताखोर टोली परिचालन गरिएका छन्।
घटनाको जाँच गरिरहेका पुलिस अधिकारीका अनुसार, छत्रपति संभाजीनगरबाट आएका केही पर्यटक शनिबार बिहान गणपतिपुले समुद्र तटमा घुम्न पुगेका थिए। बिहान उनीहरूमध्ये ८ जना समुद्रमा प्रवेश गरेका थिए। सोही क्रममा अचानक आएको ठूलो छाल र समुद्री धारको परिवर्तनका कारण उनीहरू बग्न थाले।
स्थानीय बासिन्दाले पर्यटकहरू डुबिरहेको थाहा पाएपछि तत्काल लाइफगार्ड र अन्य स्थानीयवासी उद्धारका लागि पुगेका थिए। उनीहरूको प्रयासबाट ८ जनामध्ये ३ जनालाई सुरक्षित रूपमा समुद्रबाट बाहिर निकाल्न सफल भएको पुलिसले जनाएको छ। तर बाँकी ५ जना अझै बेपत्ता छन्। घटनाको जानकारी पाएलगत्तै पुलिस र स्थानीय प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेका छन् र व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
यस घटनापछि गणपतिपुले क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ भने पर्यटकहरूमा पनि डर फैलिएको छ। स्थानीय माछुवा, लाइफगार्ड र प्रशासनको संयुक्त टोलीले बेपत्ता पाँच जनाको खोजीका लागि युद्धस्तरमा अभियान सञ्चालन गरिरहेको भए पनि समाचार तयार पार्दासम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी