
चण्डीगढ, २१ जून (हि.स.)। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले १२औँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आइतबार पञ्चकुलामा आयोजित राज्यस्तरीय कार्यक्रममा देश-विदेशबाट आएका योग साधकहरू तथा प्रदेशवासीहरूलाई सम्बोधन गर्दै योग शिक्षालाई विद्यालय तहमा थप विस्तार गरिने घोषणा गरे। उनले यसै शैक्षिक सत्रदेखि कक्षा ८ को पाठ्यक्रममा योग समावेश गरिएको जानकारी दिँदै आगामी शैक्षिक सत्रदेखि कक्षा ३ देखि ९ सम्म योग शिक्षालाई पाठ्यक्रममा लागू गरिने बताए। यसबाट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा भावनात्मक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीले प्रदेशका सबै विद्यालयहरूमा योग तथा योग शिक्षालाई नियमित रूपमा प्रवर्द्धन गर्न पीटीआई, डीपीआई, पीजीटी तथा चयनित पीआरटी शिक्षकहरूलाई योगासनसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने जानकारी दिए, ताकि प्रत्येक विद्यालयमा विद्यार्थीहरूले नियमित रूपमा योगाभ्यास गर्न सकून्।
पञ्चकुलामा आयोजित अन्तरराष्ट्रिय योग दिवस समारोहमा अफगानिस्तान, बंगलादेश, भूटान, नेपाल, गाम्बिया, इराक, लेसेथे, मेडागास्कर, दक्षिण सुडान, तान्जानिया, युगान्डा तथा जिम्बाब्वेसहित १६ देशका योग साधकहरू सहभागी भएका थिए। साथै, आईटीबीपी), सीआरपीएफ तथा हरियाणा पुलिसका जवानहरूले पनि कार्यक्रममा योग प्रदर्शन गरे।
मुख्यमन्त्री सैनीले हरियाणा कर्मचारी चयन आयोग र हरियाणा लोक सेवा आयोगद्वारा सञ्चालन गरिने सबै परीक्षाहरूमा योगसम्बन्धी केही प्रश्नहरू अनिवार्य रूपमा समावेश गरिने घोषणा गरे। यसका लागि परीक्षा नीतिमा आवश्यक संशोधन गरिने उनले बताए। उनले मोरनी क्षेत्रमा प्राकृतिक चिकित्सा तथा योगका लागि राज्यस्तरीय संस्थान स्थापना गरिने घोषणा गर्दै त्यहाँ प्राकृतिक चिकित्सा र योगसम्बन्धी स्नातक तहका पाठ्यक्रम सञ्चालन गरिने जानकारी दिए।
मुख्यमन्त्रीले प्रदेशका विभिन्न विश्वविद्यालयहरूमा स्थापना भइरहेका पाँचवटा सेन्टर अफ एक्सिलेन्समा पनि योगलाई प्रमुख घटकका रूपमा समावेश गरिने बताए। यसमार्फत योग शिक्षा, प्रशिक्षण, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गरिनेछ। साथै, उच्च शिक्षा विभागअन्तर्गत रहेका सबै खेल विभागहरूको नाम परिवर्तन गरी अब स्पोर्ट्स एन्ड योग विभाग राखिने जानकारी दिए, जसबाट योगलाई संस्थागत पहिचान र उचित स्थान प्राप्त हुने अपेक्षा गरिएको छ।
उनले राज्यको खेल नीतिमा योगासनलाई खेल विधाका रूपमा समावेश गरिने र त्यसका लागि आवश्यक संशोधन गरिने बताए। योग पाठ्यक्रममा आयुर्वेदका केही विषयहरू पनि समावेश गरिनेछन्। यसअघि स्वीकृत आयुष योग प्रशिक्षक (योग कोच) का रिक्त पदहरूमा छिट्टै नियुक्ति प्रक्रिया अघि बढाइने उनले जानकारी पनि दिए।
यसअघि हरियाणाकी स्वास्थ्य तथा आयुष मन्त्री आरती सिंह रावले योग आज उत्सवको स्वरूपमा विकसित भइसकेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोच र प्रेरणाले योगलाई जनआन्दोलनको रूप दिएको उल्लेख गरिन्। उनले योगले “वन अर्थ, वन फ्यामिली, वन नेशन एन्ड वन फ्युचर” को अवधारणालाई सार्थक बनाइरहेको बताइन्। आरती रावले आयुष विभागद्वारा वृद्ध सेवा तथा स्वास्थ्य पोर्टल ‘संजीवनी योग कार्यक्रम’ को शुभारम्भ गरिएको जानकारी दिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी