राष्ट्रपति द्रौपदी मुर्मुले राज्यपाल र मुख्यमन्त्रीसँग जबलपुरमा गरिन् योग
राष्ट्रपति द्रौपदी मुर्मू


भोपाल, २१ जून (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले आइतबार १२औँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा जबलपुरस्थित गैरिसन ग्राउन्डमा आयोजित राज्यस्तरीय कार्यक्रममा सहभागी भई योग अभ्यास गरिन्। यस अवसरमा राज्यपाल मंगुभाई पटेल तथा मुख्यमन्त्री डा. मोहन यादवले पनि विभिन्न योगासन र प्राणायामको अभ्यास गरे।

मध्य प्रदेशमा अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सबै जिल्लाहरूमा सामूहिक योग कार्यक्रम आयोजना गरियो, जसमा ठूलो सङ्ख्यामा नागरिकहरूको सहभागिता रहेको थियो। जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूको प्रमुख आतिथ्यमा आयोजित १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०२६ अन्तर्गत सामूहिक योगाभ्यास कार्यक्रममा हजारौँ सहभागीहरूले योग अभ्यास गरेका थिए।

‘स्वस्थ आयुका लागि योग’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा करिब ५,००० नागरिक तथा ३१ विद्यालयका करिब ३,४०० विद्यार्थीहरूले विभिन्न योगासनहरूको अभ्यास गरे। कार्यक्रममा राज्यपाल पटेल, मुख्यमन्त्री डा. यादव, उपमुख्यमन्त्री जगदीश देवडा, पञ्चायत तथा ग्रामीण विकास मन्त्री प्रह्लाद सिंह पटेल, लोक निर्माण मन्त्री राकेश सिंह तथा आयुष मन्त्री इन्दर सिंह परमारले पनि योग अभ्यास गरे।

यसैबीच, इन्दौरले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा भ्रामरी प्राणायाममा नयाँ कीर्तिमान कायम गरेको छ। सामूहिक योग कार्यक्रममा हजारौँ सहभागीहरूले तीन मिनेटभन्दा बढी समयसम्म लगातार भ्रामरी प्राणायाम गरेका थिए। योग प्रशिक्षकहरूको निर्देशनमा गरिएको यस अभ्यासले योगप्रतिको जनचेतना र स्वास्थ्यप्रतिको प्रतिबद्धताको सन्देश दिएको आयोजकहरूले बताएका छन्।

राजधानी भोपालको टीटी नगर स्टेडियममा पनि ठूलो सङ्ख्यामा मानिसहरूले योगाभ्यास गर्दै स्वस्थ जीवनको सन्देश दिएका थिए। कार्यक्रमका लागि प्रशासनले सुरक्षा, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य आधारभूत सुविधाको विशेष व्यवस्था गरेको थियो।

ग्वालियरमा आयोजित सामूहिक योग कार्यक्रममा प्रभारी मन्त्री तुलसी सिलावट प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सम्भागीय आयुक्त, कलेक्टर, पुलिस प्रमुख तथा अन्य प्रशासनिक अधिकारी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सयौँ नागरिकहरूले उत्साहपूर्वक योगासन तथा प्राणायाम अभ्यास गर्दै नियमित योगलाई जीवनशैलीको हिस्सा बनाउने संकल्प व्यक्त गरे।

त्यसैगरी, उज्जैनको दशहरा मैदानमा आयोजित योग कार्यक्रममा प्रभारी मन्त्री गौतम टेटवाल, विकास प्राधिकरण अध्यक्ष रवि सोलंकी, नगर निगम सभापति कलावती यादव, कलेक्टर, एसपी तथा विभिन्न विभागका अधिकारी र जनप्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा ठूलो सङ्ख्यामा विद्यार्थीहरूले पनि योगाभ्यास गरेका थिए।

‘स्वस्थ आयुका लागि योग’ विषयमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले योगासन तथा प्राणायामको अभ्यास गरे। साथै, उपस्थितहरूले मुख्यमन्त्री डा. मोहन यादवको सम्बोधन प्रत्यक्ष प्रसारणमार्फत सुने। कार्यक्रममार्फत नियमित योग अपनाई स्वस्थ र निरोगी जीवन बिताउने सन्देश दिइएको थियो।

यसै अवसरमा विश्वप्रसिद्ध पर्यटनस्थल साँची स्तूप परिसरमा पनि जिल्ला स्तरीय योग कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल सहभागी थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande