छत्तीसगढ़मा आईएसआईको स्लीपर सेलसँग सम्बन्धित रहेको आरोपमा एक युवक पक्राउ
पक्राउ परेका अभियुक्त


रायपुर, २२ जुन (हि.स.)। छत्तीसगढ़को जांजगीर-चाम्पा जिल्लाको अकलतरा पुलिसले आइतबार राति एक संदिग्ध युवकलाई पक्राउ गरेको छ। पुलिसका अनुसार, उक्त युवकको पाकिस्तानको गुप्तचर संस्था आईएसआईको स्लीपर सेलसँग सम्बन्ध रहेको आशंका गरिएको छ। पक्राउ पर्ने युवकको पहिचान पञ्जाबको तरन तारन निवासी २३ वर्षीय सेवक सिंहका रूपमा भएको छ।

पुलिस अधीक्षक विजय कुमार पाण्डेयको निर्देशनमा गरिएको कारबाहीपछि अकलतरा पुलिस थानामा अभियुक्तविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा १५२ र ६१(२) अन्तर्गत राष्ट्रविरोधी गतिविधिसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सेवक सिंह अकलतराको मिनी माता चौकस्थित राजीव केडियाको घरमा भाडामा बस्दै आएका थिए। उनी आफ्ना एक आफन्तमार्फत जेएसडब्ल्यू पावर कम्पनीमा ठेक्का श्रमिकका रूपमा कार्यरत थिए।

पुलिसका अनुसार, प्रारम्भिक अनुसन्धानमा अभियुक्तको मोबाइल फोनबाट संदिग्ध विदेशी नम्बरहरूमा भिडियो कल तथा व्हाट्सएप च्याट गरिएको प्रमाण फेला परेको छ। मोबाइलबाट पाकिस्तान, साउदी अरेबिया र मेक्सिकोका विभिन्न संदिग्ध नम्बरहरूसँग सम्पर्क रहेको देखिएको छ। साथै पाकिस्तानस्थित ह्यान्डलरहरूसँग भएका व्हाट्सएप च्याट, भिडियो कल र भ्वाइस रेकर्डिङजस्ता डिजिटल प्रमाणहरू पनि बरामद भएका छन्।

एसपी विजय कुमार पाण्डेयका अनुसार, अभियुक्तले छत्तीसगढ़का केही संवेदनशील स्थान, सवारीसाधनहरूको लोकेसन तथा भिडियोहरू संदिग्ध नम्बरहरूमा पठाएका थिए। अकलतरास्थित पावर कम्पनी तथा बिलासपुर जिल्लाको सीपतमा सञ्चालित नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी) सम्बन्धी लोकेसन र भिडियोहरू पनि पाकिस्तानका संदिग्ध नम्बरहरूमा पठाइएको आरोप छ।

पुलिसको दाबीअनुसार, प्रारम्भिक अनुसन्धानमा सीमापारबाट हतियार आपूर्ति गर्ने विषयमा समेत कुराकानी भएको संकेत भेटिएको छ। आईएसआईले यस स्लीपर सेलमार्फत कुनै ठूलो आपराधिक वा आतङ्ककारी गतिविधि सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने आशंका गरिएको छ। पुलासका अनुसार, अभियुक्त पञ्जाब जाँदा पाकिस्तानबाट ड्रोनमार्फत हतियार वा अन्य सामग्री पठाउने तयारी भइरहेको विषयसमेत च्याटहरूबाट खुलेको छ, जसको प्रयोग लक्षित हत्याजस्ता घटनामा हुन सक्ने आशंका गरिएको छ।

अभियुक्तको मोबाइल फोनलाई थप डेटा रिकभरी तथा प्राविधिक विश्लेषणका लागि फरेन्सिक साइन्स ल्याबोरेटरी पठाइएको छ। साथै उनका ब्याङ्क खाताहरू र वित्तीय कारोबारहरूको पनि विस्तृत अनुसन्धान भइरहेको छ। पुलिसले अभियुक्तलाई न्यायिक हिरासतमा पठाएको छ भने घटनाको संवेदनशीलता तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएकाले यसबारे आतंकवादविरोधी निकायहरूलाई समेत जानकारी गराइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande