
नयाँ दिल्ली, २३ जून (हि.स.)। केन्द्रिय अनुसन्धान ब्यूरो (सीबीआई) ले हरियाणाको चर्चित आईडीएफसी वित्तीय अनियमितता प्रकरणमा ठूलो कारबाही गर्दै वरिष्ठ आईएएस अधिकारी पंकज अग्रवाललाई सोमबार पक्राउ गरेको छ। आरोपी अधिकारीलाई आज (मंगलबार) अदालतमा पेश गरिनेछ। उनी हरियाणा स्कूल शिक्षा परियोजना परिषद् (एचएसएसपीपी) र हरियाणा राज्य कृषि विपणन बोर्ड (एचएसएएमबी) मा तत्कालीन प्रधान सचिवका रूपमा कार्यरत थिए।
सीबीआईका अनुसार, यो मामिला आईडीएफसी फर्स्ट ब्याङ्कको चण्डीगढ़स्थित सेक्टर ३२ शाखामा खोलिएका खातामार्फत सरकारी कोषको दुरुपयोगसँग सम्बन्धित छ। अनुसन्धानका क्रममा हरियाणा सरकारको वित्त विभागका विद्यमान निर्देशिकाहरूको उल्लङ्घन गर्दै यी विभागहरूको ब्याङ्क खाता खोलिएको र पछि निर्धारित सीमाभन्दा बढी रकम ती खाताहरूमा स्थानान्तरण गरिएको खुलासा भएको छ। यी खाताहरू पंकज अग्रवालको कार्यकालमा खोलिएका थिए।
ती खाताहरूबाट जालसाजीपूर्ण कारोबारमार्फत रकम हिनामिना गरिएको थियो, जसका कारण सरकारी कोषलाई ६०.५४ करोड़ रुपियाँको प्रत्यक्ष नोक्सानी पुगेको बताइएको छ। सीबीआईले अनुसन्धानका क्रममा आरोपी अधिकारीविरुद्ध ठोस प्रमाण संकलन गरेको जनाएको छ।
सीबीआईले राज्य सरकारको अनुरोधमा हरियाणा राज्य सतर्कता तथा भ्रष्टाचार निरोधक ब्यूरोबाट यो प्रकरणको अनुसन्धान आफ्नो हातमा लिएको थियो। यी दुई विभागमा भएको ठगीमार्फत करिब ६०.५४ करोड़ रुपियाँ हिनामिना गरिएको थियो, जुन सेक्टर ३२ स्थित आईडीएफसी फर्स्ट ब्याङ्क शाखामा भएको ठूलो घोटालाको हिस्सा रहेको बताइएको छ।
यस महाघोटालामा हरियाणा सरकारका आठ विभागका कुल ५०४ करोड़ रुपियाँ हिनामिना गरी शेल कम्पनीहरू (नक्कली कम्पनीहरू) मा पठाइएको थियो। यस प्रकरणमा सीबीआईले हालसम्म १७ जना आरोपीविरुद्ध आरोपपत्र (चार्जशीट) दायर गरिसकेको छ, जसमा ६ जना ब्याङ्क अधिकारी, ३ जना सरकारी कर्मचारी, २ कम्पनी र ६ निजी व्यक्ति समावेश छन्।
एजेन्सीका अनुसार, यही प्रकरणअन्तर्गत पञ्चकुला नगर निगममा भएको हिनामिनासँग सम्बन्धित अर्को वरिष्ठ आईएएस अधिकारी आरके सिंहलाई पुलिस रिमाण्ड सकिएपछि न्यायिक हिरासतमा पठाएको छ।
यसका अतिरिक्त, सीबीआईले चण्डीगढ़ केन्द्रशासित प्रदेशसँग सम्बन्धित दुई अन्य मुद्दाको अनुसन्धान पनि आफ्नो जिम्मामा लिएको छ। तीमध्ये एउटा चण्डीगढ़ स्मार्ट सिटी (सीएससीएल) र अर्को क्रेस्ट (सीआरईएसटी) चण्डीगढ़सँग सम्बन्धित छन्। यी दुवै प्रकरणमा पनि सीबीआईले आरोपपत्र दायर गरिसकेको छ र क्रेस्ट प्रकरणमा एक वरिष्ठ आईएफओएस (भारतीय वन सेवा) अधिकारीलाई पहिले नै पक्राउ गरिसकेको छ।
सीबीआईले जनताको रकम हिनामिनामा संलग्न सबै दोषीलाई कानुनी दायरामा ल्याउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी