

जङ्गु, 28 जून (हि.स.)। जङ्गुका महकुमा अधिकारी गिडोन लेप्चाले शनिबार रातभरि परेको अविरल वर्षापछि जङ्गु महकुमाका विभिन्न क्षेत्रमा भएको क्षतिको स्थलगत निरीक्षण भ्रमण गरे। उनीसँग पञ्चायत अध्यक्ष सोनाम छिरिङ लेप्चा, युवा नेता तेन्जिङ ग्याछो लेप्चा तथा अन्य स्थानीय अधिकारीहरू पनि सहभागी थिए।
टोलीले सर्वप्रथम लोअर जङ्गुको फिदाङस्थित फी खोलाको निरीक्षण गर्यो, जहाँ १०७ आरसीसी ग्रेफद्वारा निर्माण गरिएको बेली ब्रिज खोलामा आएको भीषण बाढीका कारण पूर्ण रूपमा बगाएको छ। यसले सवारीसाधन तथा पैदल आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। एसडीएमले ग्रेफका अधिकारीहरूलाई बाढीको पानी घटेपछि तत्काल आवतजावत पुनः सञ्चालन गर्न आवश्यक कार्य अघि बढाउन निर्देशन दिए।
त्यसपछि टोलीले लुम गोर साङटोक जीपीयू अन्तर्गत शाग्योङ र साङटोक वार्डलाई जोड्ने फी खोलामाथिको अर्को पुलको निरीक्षण गर्यो। पुलतर्फ जाने पहुँचमार्ग भत्किएपछि शाग्योङ र साङटोक वार्ड अन्य क्षेत्रबाट पूर्ण रूपमा विच्छेद भएका छन्। सडक सम्पर्क तत्काल पुनःस्थापना गर्न सम्बन्धित पीएमजीएसवाई अधिकारीहरूसँग आवश्यक पत्राचार गरिएको बताइएको छ।
यसपछि टोलीले तारयाङ वार्ड र नोन वार्ड अन्तर्गत रियोट खोलामा भएको सडक क्षतिको पनि निरीक्षण गर्यो। साङडोङ वार्डस्थित विद्यालय पुग्न यस सडक प्रयोग गर्ने विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय वार्ड पञ्चायतलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। साथै, सडकमाथि बाढीको पानी नजम्ने गरी आवश्यक नाली निर्माणसहित सडक तत्काल मर्मत गर्न सम्बन्धित पीएमजीएसवाई अधिकारीहरूसँग आवश्यक समन्वय गरिएको छ।
स्थानीय प्रशासनले प्रभावित मार्गहरूमा यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। साथै, पञ्चायतमार्फत स्थानीय बासिन्दालाई सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न अपील गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल