
गान्तोक, 28 जून (हि.स.)। गान्तोक जिल्लाले जारी विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत गणना कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। बुथ लेभल अफिसर (बीएलओ) हरूको समर्पित प्रयासबाट जिल्लामा कुल ९९.६८ प्रतिशत गणना फाराम वितरण गरिएको बताइएको छ।
जिल्ला निर्वाचन अधिकारी (डीईओ) गान्तोकबाट प्राप्त प्रतिवेदनअनुसार, जिल्लाका १,२२,२४० योग्य मतदातामध्ये १,२१,८५२ जनालाई गणना फाराम वितरण गरिएको छ। डिजिटलकरणतर्फ हालसम्म वितरण गरिएका फाराममध्ये ८८.३६ प्रतिशत अर्थात् १,०८,०१२ वटा फाराम बीएलओहरूले सङ्कलन गरी २८ जून, २०२६ सम्म डिजिटल रूपमा अपलोड गरिसकेका छन्।
जिल्लाभरि यो कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न १८२ जना बीएलओ परिचालन गरिएको थियो, जसले योग्य मतदातासम्म अधिकतम पहुँच सुनिश्चित गर्दै समयमै गणना फाराम सङ्कलन गरेका छन्। एसआईआर २०२६ को अर्को चरण ५ जुलाई, २०२६ मा प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेपछि ५ जुलाईदेखि ४ अगस्त, २०२६ सम्म चल्नेछ। यसावधि, मतदाताहरुले दाबी तथा आपत्ति दर्ता गर्न सक्ने छन्।
जिल्ला प्रशासनले गणना कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबै निर्वाचन अधिकारी, बीएलओ, सम्बन्धित सरोकारवाला तथा मतदाताप्रति आभार व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल