
मङ्गन, 28 जून (हि.स.)। लगातार परेको वर्षाका कारण लोअर जङ्गुस्थित फिदाङ-साङ्कालाङ सडक खण्डको फी खोलामाथिको बेली पुल बगाएपछि मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक (एसपी) एलबी छेत्री तथा १०७ आरसीसी ग्रेफका ओसीले आज बिहान घटनास्थलको निरीक्षण गरी अवस्थाको मूल्याङ्कन गरेका छन्।
अत्यधिक वर्षाका कारण फी खोलामाथिको बेली पुल बग्दा फिदाङ-साङ्कालाङ सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थल निरीक्षणपछि क्षतिको विस्तृत मूल्याङ्कन गर्दै १०७ आरसीसी ग्रेफले तत्काल नयाँ बेली पुल पुनःस्थापना गर्ने कार्य शुरु गर्ने निर्णय गरेको बताइएको छ। उक्त पुल निर्माण कार्य एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल