दार्जिलिङ र सिक्किमको आत्मीय सम्बन्धलाई अझ सुदृढ़ बनाउँदै अघि बढौँ: मुख्यमन्त्री
मुख्यमन्त्री प्रेमसिंह तामाङ दार्जिलिङमा


गान्तोक, 28 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज दार्जिलिङमा आयोजित किराती खाम्बु राई सांस्कृतिक महोत्सव २०२६ तथा साकेला उभौली पर्वमा सहभागी बने। चौरास्तामा आयोजित उक्त कार्यक्रममा सिक्किम सरकारका मन्त्री भोजराज राई, पश्चिम बंगाल सरकारका राज्यमन्त्री विशाल लामा, दार्जिलिङका सांसद राजु बिष्ट, विधायकहरू तथा अन्य विशिष्ट अतिथिहरू उपस्थित थिए।

उक्त जानकारी मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्। मुख्यमन्त्रीले कार्यक्रममा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गर्दै किराती समुदायको समृद्ध भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा किराती खाम्बु राई कल्चरल एन्ड रिसर्च सोसाइटीलाई हार्दिक बधाई दिएका छन्।मुख्यमन्त्रीले भने, 'साकेला उभौली पर्वले हामीलाई प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवन बिताउन, आफ्ना पुर्खाप्रति सम्मान प्रकट गर्न तथा एकता, कृतज्ञता र पारस्परिक सम्मानका मूल्यहरूलाई अझ सुदृढ़ बनाउन प्रेरणा दिन्छ। हाम्रो भाषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व मात्र होइन, भावी पुस्ताका लागि सबैभन्दा अमूल्य उपहार पनि हो।'मुख्यमन्त्रीले सिक्किम र दार्जिलिङ प्रशासनिक सीमाले अलग भए पनि हाम्रो साझा भाषा, संस्कृति, परम्परा र इतिहासले हामीलाई सधैं एक सूत्रमा बाँधेको उल्लेख गरेका छन्। उनले यो आत्मीय सम्बन्धलाई अझ सुदृढ़ बनाउँदै अघि बढौँ भनी आह्वान गरेका छन्। उनले विशेषगरी युवा पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाप्रति गर्व गर्दै भविष्यका अवसरहरूलाई आत्मसात् गर्न आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande