
खरसाङ, 28 जून (हि.स.)। खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँमा रातभरि परेको पानीपछि गएको पैह्रोले धेरै घरहरु खतरामा परेको छ। बन्दुके गाउँको थेबा तामाङको घर पैह्रोको चपेटमा परेको छ भने उक्त पैह्रोले वरिपरिका घरहरुलाई पनि निक्कै जोखिम उत्पन्न गरेको छ।
थेबा तामाङको घरको भित्ता पैह्रोको चपेटमा परेकाले पीडित परिवार अन्यत्र सर्न बाध्य बनेको छ। यसका साथै, पैह्रोले सुकराज तामाङको घर पनि खतरामा परेको छ। बन्दुके गाउँमा अशोक राईको घरमुनि पनि पैह्रो गएर खतरा उत्पन्न भएको छ।
पैह्रोको चपेटमा घरहरुका साथै बिजुली बत्तीको पोललाई पनि तान्ने अवस्थामा रहेको छ। उक्त पैह्रो क्षेत्रको निरीक्षण गर्न घैयाबारी ग्राम पञ्चायत दुईका पञ्चायत सदस्य एवं भारतीय जनता पार्टीको अनुसूचित जातिको तीनधारे महानदी मण्डलका सभापति अजय विश्वकर्मा र मण्डलका उप सभापति सागर दासले निरीक्षण गरेका छन्। निरीक्षणपछि गरेर प्रभावित ठाउँमा पोलिथिन लगाइएको जानकारी प्राप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक