असार १५ कृषकहरूको श्रम, समर्पण र जीवन्त संस्कृतिको प्रतीकात्मक पर्व: राज्यपाल
om prakash mathur


गान्तोक, 29 जून (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले असार १५ को पावन अवसरमा सम्पूर्ण सिक्किमवासी तथा कृषक समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, “असार १५ हाम्रा कृषकहरूको श्रम, समर्पण र जीवन्त संस्कृतिको प्रतीकात्मक पर्व हो। खेतबारीमा हिलो खेल्दै धान रोप्ने परम्परा केवल कृषि कार्य मात्र नभई हाम्रो सामूहिकता, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सशक्त अभिव्यक्ति पनि हो। यस दिन दही-चिउरा खाने परम्पराले हाम्रो मौलिक संस्कृति र सामाजिक एकतालाई अझ सुदृढ़ बनाउँदै आएको छ।

उनले भने, कृषि हाम्रो अर्थतन्त्रको प्रमुख आधार हो। खाद्य सुरक्षा सुनिश्चित गर्न, ग्रामीण जीवनलाई सुदृढ़ बनाउन तथा आत्मनिर्भर समाज निर्माण गर्न हाम्रा किसानहरूको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रमकै कारण हाम्रो जीवन सुरक्षित, समृद्ध र दिगो बनेको छ।

उनले वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै हामी सबैले कृषकहरूको अझ बढी सम्मान गरौँ, आधुनिक कृषि प्रविधिलाई अपनाऔँ, जैविक खेतीलाई प्रोत्साहन गरौँ र दिगो कृषि प्रणालीको विकासका लागि एकजुट भएर अघि बढौँ भनेका छन्। राज्यपालले सुनौलो, सक्षम र समृद्ध सिक्किम निर्माण गर्दै ‘विकसित भारत @२०४७’ को सपना साकार पार्ने दृढ सङ्कल्प गर्न आह्वान गरेका छन्।

उनले असार १५ ले हामी सबैलाई कृषि, प्रकृति र संस्कृतिप्रति अझ जिम्मेवार बन्न प्रेरणा प्रदान गरोस् भन्ने विश्वासका साथ सम्पूर्ण नागरिक तथा कृषकहरूको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande