
म्याड्रिड, १० जुलाई (हि.स.)। दक्षिण स्पेनको अल्मेरिया प्रान्तमा लागेको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन्। धेरै पीडितका शव जलेका सवारी साधनभित्र फेला परेका छन्। लगातारको अत्यधिक गर्मी र हीटवेभका कारण आगो तीव्र रूपमा फैलिँदा ठूलो क्षति भएको हो।
फ्रान्स २४ र टर्कीको सरकारी समाचार संस्था अनाडोलुले क्षेत्रीय सरकारलाई उद्धृत गर्दै अल्मेरिया प्रान्तका बेदार र लस गालार्डोस क्षेत्रमा लागेको डढेलोपछि उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको जनाएको छ। मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको छ। अन्डालुसियाका आपत्कालीन मामिला मन्त्री एन्टोनियो सेन्जका अनुसार, प्रारम्भिक जानकारीले मृतकमध्ये अधिकांश, वा सम्भवतः सबै विदेशी नागरिक रहेको देखाएको छ।
यस घटनामा कम्तीमा आठ जना घाइते भएका छन्। एक महिला गम्भीर रूपमा जलेकी छन् भने अर्का एक व्यक्तिलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ। करिब १५० जना अग्निनियन्त्रक र पाँचवटा दमकल गाडी आगो नियन्त्रणमा जुटेका छन्। आगलागी शुरु हुँदा उक्त क्षेत्रमा तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको थियो। प्रत्यक्षदर्शीका अनुसार, विद्युत् लाइन खस्दा सुख्खा वनस्पतिमा आगो लागेको र तीव्र हावाका कारण त्यो छिट्टै वरपरका जंगलमा फैलिएको थियो। यद्यपि अधिकारीहरूले आगलागीको वास्तविक कारण अझै आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।
आगलागीका कारण धेरै सडक बन्द गरिएका छन् र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। करिब ५० जनालाई अस्थायी रूपमा एक सांस्कृतिक केन्द्रमा आश्रय दिइएको छ। स्पेनको सैन्य आपत्कालीन एकाई (यूएमई) पनि उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै डढेलोको भयावह परिणामले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। अन्डालुसियाका क्षेत्रीय प्रमुख जुआनमा मोरेनोले यस घटनालाई ठूलो त्रासदी भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
स्पेन अहिले भीषण हीटवेभको चपेटामा छ। अन्डालुसियाका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि 'अरेन्ज वेदर वार्निङ' जारी गरिएको छ। विज्ञहरूका अनुसार, लगातार बढ्दो तापक्रम र सुख्खा मौसमका कारण डढेलोका घटना अझ गम्भीर बन्दै गएका छन्।
राष्ट्रिय मौसम एजेन्सी एईएमईटीका अनुसार पछिल्ला वर्षहरूमा स्पेनमा रेकर्डस्तरको गर्मी मापन गरिएको छ। यसै महिनाको सुरुआतमा पनि कोस्टा ब्राभा क्षेत्रमा लागेको भीषण डढेलोका कारण हजारौँ मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको थियो। गत वर्ष स्पेनमा डढेलोका कारण करिब चार लाख हेक्टर जमिन प्रभावित भएको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो प्रभावित क्षेत्रमध्ये एक मानिन्छ।
हिन्दुस्थान समाचार / बिशाल