

तेहरान/वाशिङ्टन, १० जुलाई (हिस)। होर्मुज जलडमरूमध्यमा अमेरिका र इरानबीच जारी प्रभुत्वको संघर्षले खाडी क्षेत्रका देशहरूमा समेत तनाउ फैलिएको छ। भीषण द्वन्द्वका बीच इरानको बुशहर परमाणु ऊर्जा केन्द्र वरपर शक्तिशाली विस्फोट भएका छन्। अमेरिका भने दक्षिणी इरानमा भएका पछिल्ला आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ। यसअघि २८ फरवरीमा भएको अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीको करिब एक महिनापछि २८ मार्चमा पनि यस केन्द्रलाई निशाना बनाइएको थियो।
बुशहर इरानको पहिलो तथा हाल सञ्चालनमा रहेको एकमात्र परमाणु ऊर्जा केन्द्र हो। यो फारसी खाडीको तटस्थित दक्षिणी इरानको बुशहर शहर नजिक अवस्थित छ। हालको द्वन्द्वका क्रममा यस केन्द्र वरपर मिसाइल र अन्य प्रक्षेप्य खसेका घटनाहरू सार्वजनिक भएका छन्। यसको निर्माण सन् १९७० को दशकमा जर्मन कम्पनीहरूले शुरु गरेका थिए भने पछि रूसको सहयोगमा सम्पन्न गरिएको थियो। यहाँको पहिलो रिएक्टर (युनिट-१) ले करिब १,००० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा आपूर्ति गर्छ। पछिल्ला विस्फोटका कारण रेडियोधर्मी पदार्थ चुहिने जोखिम बढेको आशंका गरिएको छ।
अल जजिरा र एक्सिओसका अनुसार, दक्षिणी इरानका रणनीतिक क्षेत्रमा लगातार भएका शक्तिशाली विस्फोटले विश्व समुदायको ध्यान तानेको छ। स्थानीय सञ्चारमाध्यम र इरानी अधिकारीहरूले बुशहर केन्द्रको सुरक्षा घेरानजिकै रहेको चोगादक सैन्य अड्डा तथा तटीय क्षेत्रलाई निशाना बनाइएको दाबी गरेका छन्। हालसम्म कुनै पनि समूहले यी आक्रमणको जिम्मेवारी लिएको छैन भने इरानले पनि कसैलाई औपचारिक रूपमा दोष दिएको छैन। एक अमेरिकी अधिकारीले वाशिङ्टन इरानसँग वार्ताप्रति प्रतिबद्ध रहेको र तेहरानसँग प्राविधिक तहको संवाद जारी रहेको बताएका छन्।
एक्सिओसका अनुसार, अमेरिकी अधिकारीहरूले बिहीबार तनाउ कम गर्ने प्रयास गरेका थिए। परमाणु सम्झौतामा पुग्ने उद्देश्यले प्राविधिक तहको वार्ता निरन्तर जारी छ। मध्यस्थकर्ताहरूले बुधबार इरान र अमेरिकाका नेतृत्वसँग टेलिफोन वार्ता पनि गरेका थिए। दुवै पक्षबीच तनाउ घटाउने सहमति जुटाउने तथा प्राविधिक टोलीबीचको अर्को चरणको वार्ताको मिति तय गर्न व्यापक कूटनीतिक पहल भइरहेको बताइएको छ।
अल जजिराका अनुसार, अमेरिकी मरीन कोर्प्सका पूर्व अधिकारी ड्यान ग्रेजियरले यस आक्रमणमा इजरायलको संलग्नता हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग खाडी क्षेत्रमा अमेरिकाले चालेका कदमबारे जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्रीको कार्यालयले एक्समार्फत जारी गरेको विज्ञप्तिमा दुवै नेताबीच विभिन्न क्षेत्रमा निरन्तर समन्वय कायम राख्ने विषयमा सहमति भएको उल्लेख गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल