
नयाँ दिल्ली, १० जुलाई (हि.स.)। अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग (बीबीएल) पहिलो पटक भारतमा आयोजना हुने भएको छ। आगामी दिसम्बरमा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपाक) मा बीबीएलको पहिलो अन्तराष्ट्रिय खेल सञ्चालन हुनेछ। प्रतियोगिताको इतिहासमा अष्ट्रेलिया बाहिर आयोजना हुन लागेको यो पहिलो खेल हुनेछ।
धेरै महिनादेखिको छलफलपछि शुक्रबार मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) मा आयोजित विशेष कार्यक्रममा यस ऐतिहासिक खेलको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। आगामी १२ दिसम्बरमा हुने खेलमा मेलबर्न रेनेगेड्स र पर्थ स्कर्चर्सको भिडन्त हुनेछ। ३८ हजार दर्शक क्षमताको चेपाक रंगशालामा हुने यस खेलका लागि आयोजकहरूले स्टेडियम पूर्ण रूपमा भरिने अपेक्षा गरेका छन्।
बीबीएलले यस खेलका लागि क्रिकेट क्यालेण्डरमा विशेष समय पनि छनोट गरेको छ। अष्ट्रेलियामा खेल साँझको समयमा सुरु हुनेछ भने भारतमा यसको सुरुआत दिउँसो हुनेछ। यो खेल पर्थमा अष्ट्रेलिया र न्यूजिल्यान्डबीच भइरहेको टेस्टको चौथो दिनको खेल समाप्त हुनेबित्तिकै शुरु हुनेछ।
विश्वकै सबैभन्दा ठूलो क्रिकेट बजार भारतमा बीबीएलको यो पहिलो प्रवेशलाई प्रतियोगिताको विश्वव्यापी विस्तारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल