नेपाली क्रिकेटको प्रवर्द्धनका लागि बीसीसीआईको हरियो झन्डा, भारत ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने
नेपाल और भारत के क्रिकेट पदाधिकारियों की बैठक


काठमाडौँ, ११ जुलाई (हि.स.)। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि भारतको भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आफ्नो भारत ‘ए’ टोली नेपाल पठाएर नेपालको राष्ट्रिय टोलीसँग खेलाउने अनुमति दिएको छ।

हालै नेपालका विदेशमन्त्री शिशिर खनालको भारतको औपचारिक भ्रमणका क्रममा नेपाली क्रिकेटको प्रवर्द्धनका लागि भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसै वार्तापछि नेपाल र भारत ‘ए’ टोलीबीच क्रिकेट शृङ्खला आयोजना गर्ने सहमति भएको हो।

नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित टीयू अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी२० शृङ्खला खेलाइनेछ।

नेपालतर्फबाट यस ऐतिहासिक शृङ्खलाको आधिकारिक घोषणा गरिएको छ। घोषणा अनुसार, शृङ्खला दिसम्बर २०२६ मा आयोजना हुनेछ। निर्धारित तालिकाअनुसार, पहिलो खेल ९ दिसम्बर, दोस्रो खेल ११ दिसम्बर र तेस्रो तथा अन्तिम खेल १३ दिसम्बर २०२६ मा हुनेछ।

यस शृङ्खला आयोजना गर्ने निर्णय स्कटल्याण्डमा सम्पन्न अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा गरिएको हो। सो अवसरमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाबीच विशेष बैठक भएको थियो।

उक्त बैठकमै नेपाल र भारत ‘ए’ टोलीबीच टी२० शृङ्खला आयोजना गर्ने विषयमा अन्तिम सहमति भएको हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande