
नयाँ दिल्ली, १२ जुलाई (हि.स.)। जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। फ्लोरिडाको मियामी स्टेडियममा शनिबार राति सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटमा खेलको निर्णय हुन सकेन। नियमित समयको समाप्तिसम्म दुवै टोली १-१ गोलको बराबरीमा थिए। त्यसपछि अतिरिक्त समयमा बेलिङ्घमले निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई स्मरणीय जित दिलाए।
नर्वेले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। एन्ड्रियास श्जेल्डरुपले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। तर केही मिनेटमै जुड बेलिङ्घमले बराबरी गोल फर्काउँदै इंग्ल्यान्डलाई खेलमा पुनः फर्काए।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय शुरु भएको केहीबेरमै, खेलको ९३औँ मिनेटमा बेलिङ्घमले आफ्नो दोस्रो तथा खेलको निर्णायक गोल गरे। त्यसपछि इंग्ल्यान्डले अग्रता जोगाउँदै २-१ को जितसहित सेमिफाइनलमा स्थान बनायो।
खेलपछि इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले नतिजा उत्कृष्ट रहेको प्रतिक्रिया दिए। उनले भने, “हामी प्रतियोगिताको अन्तिम चार टोलीभित्र पर्न सफल भएका छौँ, यो हाम्रो लागि ठूलो उपलब्धि हो। यद्यपि, हामीबाट केही गल्ती पनि भए। हाम्रो खेलको गति अपेक्षाअनुसार राम्रो थिएन र निरन्तरताको कमी देखियो। आज भाग्य पनि हाम्रो पक्षमा रह्यो।”
हिन्दुस्थान समाचार / बिशाल