
टोरन्टो, १२ जुलाई (हि.स.)। क्यानडाको टोरन्टो शहरमा शनिबार साँझ आयोजित ‘साल्सा अन सेन्ट क्लेयर’ सडक महोत्सवका क्रममा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। पुलिसका अनुसार, घटनापछि संदिग्ध फरार रहेको र उसको खोजी जारी छ।
रुसको अन्तरराष्ट्रिय सञ्चारमाध्यम रुस टुडे (आरटी) तथा अन्य सञ्चारमाध्यमका अनुसार, टोरन्टो पुलिसले राति करिब ८:१२ बजी सेन्ट क्लेयर एभिन्यू वेस्ट र आर्लिङ्टन एभिन्यू नजिक गोली चलेको सूचना प्राप्त गरेको थियो। घटनास्थलमा पुगेको पुलिसले दुई जनालाई मृत अवस्थामा फेला पारेको थियो भने छ जना घाइतेलाई अस्पताल लगिएको थियो। घाइतेमध्ये पाँच जनालाई गोली लागेको छ भने अर्का एक जना अन्य कारणले घाइते भएका छन्।
घटनापछि सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी ठूलो सङ्ख्यामा पुलिस परिचालन गरिएको छ। अधिकारीहरूले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन र आपतकालीन सेवाका निर्देशनहरूको पालना गर्न आग्रह गरेका छन्।
प्रेस सम्मेलनमा टोरन्टो पुलिसका डेपुटी चिफ फ्र्याङ्क बरेडोले प्रारम्भिक सूचनाका आधारमा यसलाई सक्रिय बन्दुकधारी को घटना मानिएको भए पनि अनुसन्धानका क्रममा यो अन्धाधुन्ध गोलीबारी नभएको स्पष्ट भएको बताए। उनका अनुसार, जून केही व्यक्तिहरूबीच भएको दोहोरो गोली हानाहानका क्रममा उक्त घटना भएको हो।
बरेडोले घटनाको अनुसन्धान जटिल रहेको उल्लेख गर्दै यससँग सम्बन्धित तीन फरक स्थानमा अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटनास्थलबाट हतियार बरामद गरिएको भए पनि हालसम्म कसैलाई पक्राउ गर्न नसकिएको बताए।
एक प्रत्यक्षदर्शीले आफूले तीन पटक गोली चलेको आवाज सुनेपछि मानिसहरू चिच्याउँदै भाग्न थालेको बताए। अर्की प्रत्यक्षदर्शीका अनुसार, उनी महोत्सवको साल्सा स्टेजमा थिइन्। अचानक ठूलो भीड स्टेजतर्फ दौडिन थालेपछि केही समयमै पुलिस घटनास्थलमा पुगेको थियो। उनले एक घाइतेलाई प्यारामेडिक्सले सीपीआर दिइरहेको पनि देखेको बताइन्।
तेस्रो प्रत्यक्षदर्शीले शुरुमा आफूलाई पटेका पड्किएको जस्तो लागेको तर मानिसहरू भाग्न थालेपछि घटनाको गम्भीरता महसुस भएको बताए। दोस्रो पटक गोली चलेको आवाज सुनेपछि उनले ज्यान जोगाउन एउटा कारमुनि लुकेर बसेको जानकारी दिए।
गोलीकाण्डपछि ‘साल्सा अन सेन्ट क्लेयर’ महोत्सव तत्काल स्थगित गरिएको छ। यो दुईदिने सांस्कृतिक महोत्सव संगीत, नृत्य, परिकार र कलामार्फत ल्याटिनो संस्कृतिको उत्सव मनाउन आयोजना गरिन्छ, जसमा हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरूको सहभागिता रहने गर्दछ।
पुलिसले घटनाको अनुसन्धान जारी रहेको र फरार संदिग्धको खोजीका लागि क्षेत्रमा व्यापक खोजतलास अभियान सञ्चालन भइरहेको जनाएको छ। साथै, घटनासम्बन्धी कुनै पनि जानकारी भए पुलिसलाई उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल