
कोलकाता, 14 जुलाई (हि.स.)। पश्चिम बङ्गालको न्यू टाउनस्थित एक गेस्ट हाउसमा बिधान नगर पुलिसले गए सोमवार अबेर राति छापामारी गरेर 2 करोड़ 20 लाख रुपियाँ नगद जफत गरेको छ। यस कारबाहीमा पुलिसले सात जना मानिसहरूलाई हिरासतमा लिएको छ। सबैसित जाँचबुझ गरेर जफत गरिएको उक्त नगदको श्रोत अनि उपयोगको बारेमा पत्तो लगाउनको लागि जाँच गरिँदैछ।
पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा बिधाननगर पुलिसको साइबर अपराध शाखा औ गुप्तचर शाखाको संयुक्त टीमले गए सोमवार राती गेस्ट हाउसमा अचानक छापामारी गऱ्यो। त्यसपछि रातभरि खोजी अभियान सञ्चालन गरियो जसमा प्रचुर मात्रामा नगद भेटियो।
प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ कि यो धनराशि साइबर ठगीसित जोड़िएको हुनसक्छ। पुलिसले यस कुराको पनि जाँच गरिरहेको छ कि यस धनलाई हवालाको माध्यमबाट अन्य ठाउँमा पठाउने तयारी गरिएको त थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा