
गान्तोक, 14 जुलाई (हि.स.)। राष्ट्रिय क्याडेट कोर (एनसीसी) पश्चिम बंगाल तथा सिक्किम निर्देशनालयका अतिरिक्त महानिर्देशक मेजर जनरल एपीएस चहल, एसएमले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यस अवसरमा ब्रिगेडियर विवेक मलिक पनि उपस्थित थिए।
लोकभवनले आज जानकारी गराए अनुसार,
भेटका क्रममा मेजर जनरल चहलले राज्यपाललाई सिक्किममा नयाँ स्वतन्त्र एनसीसी ग्रुप मुख्यालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए। हालसम्म सिक्किमको एनसीसी व्यवस्था पश्चिम बंगालसँग संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ। उनले नयाँ स्वतन्त्र एनसीसी ग्रुप मुख्यालय स्थापना भएपछि सिक्किममा एनसीसीका गतिविधिहरू अझ प्रभावकारी र सशक्त बन्ने बताए।
यसका साथै एनसीसीका वर्तमान गतिविधिबारे पनि विस्तृत छलफल भयो, जसमा ड्रोन प्रशिक्षण, साइबर सुरक्षा पाठ्यक्रम, रक्षा नवप्रवर्तन, साहसिक गतिविधि तथा खेलकुद कार्यक्रमहरु सामेल थिए।
राज्यपालले सीमावर्ती तथा रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण राज्य सिक्किमको विकास र राष्ट्र निर्माणमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सिक्किमका विद्यालय तथा महाविद्यालयहरूमा एनसीसी क्याडेटहरूको संख्या वृद्धि गर्न आग्रह गरे।
यस अवसरमा मेजर जनरल चहलले एनसीसीका युवा-केन्द्रित अभियानहरूलाई निरन्तर सहयोग र प्रोत्साहन प्रदान गरेकोमा राज्यपालप्रति हार्दिक आभार व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल