
गान्तोक, 14 जुलाई (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले सिक्किम सरकारको सामाजिक कल्याण विभाग तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभागसँग विभिन्न कल्याणकारी योजनाहरुको कार्यान्वयनको समीक्षा तथा विभागहरूबीच समन्वय सुदृढ़ बनाउने उद्देश्यले समन्वय बैठकको अध्यक्षता गरेका छन्।
बैठकमा दुवै विभागका सचिवहरू तथा छात्रवृत्ति कार्यक्रम, वृद्धभत्ता र अन्य सामाजिक सुरक्षा योजनाका नोडल अधिकारीहरूको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा छात्रवृत्ति योजना, वृद्धभत्ता, दिव्याङ्ग व्यक्तिका लागि प्रदान गरिने पेन्सन, विधवा भत्ता तथा अन्य सामाजिक कल्याणकारी योजनाको कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो। योजनाको प्रभावकारी कार्यान्वयन, लाभको समयमै वितरण, कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा योग्य लाभार्थीहरुमा योजनाबारे जनचेतना अभिवृद्धि गर्ने विषयमा विशेष जोड दिइएको थियो।
सांसद डा. सुब्बाले कल्याणकारी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा योग्य लाभार्थीहरूले अनावश्यक ढिलाइबिना आफूलाई प्राप्त हुने सुविधा पाउने सुनिश्चित गर्न विभागहरूबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताए। बैठकमा राज्यभर कल्याणकारी योजनाहरूको प्रभावकारी, पारदर्शी र समयमै सेवा प्रवाह सुनिश्चित गर्न संस्थागत समन्वयलाई अझ सुदृढ़ बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल