
जलपाईगुड़ी, 14 जुलाई (हि.स.)। श्रावण मासको अवसरमा जलपेश मन्दिरसँगसँगै जटिलेश्वर मन्दिरलाई पनि आकर्षणको केन्द्र बनाउने तयारी शुरू गरिएको छ। राज्य सरकारको पहलमा यहाँ श्रावण महिनाभरि नै श्रावणी उत्सव आयोजना गरिनेछ। यहाँ श्रद्धालुहरूको सुविधाका लागि व्यापक व्यवस्था गरिँदैछ।
हालैमा मयनागुड़ीका विधायक डलिम चन्द्र राय र बीडीओ सौमेन दासको उपस्थितिमा मन्दिर समितिले बैठक गरेर तयारीहरूको समीक्षा गरियो। बैठकमा मन्दिर परिसरमा मञ्च स्थापित गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने अनि सम्पूर्ण क्षेत्रलाई आकर्षक प्रकाशले सजाउने निर्णय लिइयो। यस अतिरिक्त जलपेशदेखि जटिलेश्वरसम्मको मार्गमा पिउने पानीको व्यवस्था गरिँदैछ। श्रद्धालुहरूको रात्रि विश्रामको लागि परिसरका कोठाहरूको सर-सफाई तथा अन्य सुविधाहरूको काम पनि द्रूत गतिमा भइरहेको छ।
विधायक डलिम चन्द्र रायले भने, जटिलेश्वर मन्दिरमा प्रत्येक वर्ष नै ठूलो सङ्ख्यामा श्रद्धालुहरू आउने गरे पनि यसलाई अपेक्षित पहिचान प्राप्त हुन सकेको थिएन। यसपालि सरकारले यसलाई व्यापक स्तरमा आयोजना गरेर नयाँ पहिचान दिने प्रयास गरिरहेको छ। प्रशासनको भनाइ छ, श्रावणी उत्सवलाई सफल अनि सुचारु रूपमा सम्पन्न गराउनको लागि सबै आवश्यक तयारीहरूलाई तीव्र गतिमा पूरा गरिंदैछ। यस पहलबाट मयनागुड़ीको धार्मिक पर्यटनले प्रोत्साहन पाउने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा