साधारण जनताको माग छुट्टै राज्य गोर्खाल्याण्ड नै हो: सन्दीप प्रधान
गोर्खाल्याण्ड मागको लागि मानिसहरुलाई जागरुकता फैलाउन पैदल यात्रा


खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङका सन्दीप प्रधानले गोर्खाल्याण्डको मागमा पैदल यात्रा शुरु गरेका छन्। उनले दार्जिलिङ मोडदेखि दार्जिलिङको महाकाल धामसम्मको पैदल यात्रा शुरु गरेका हुन्। दार्जिलिङ मोडबाट पैदल यात्रा शुरु गरेर राति खरसाङ आइपुगेपछि मंगलबार बिहान उनले खरसाङबाट महाकाल धामको निम्ति पैदल यात्रा शुरु गरे।

यस टोलीमा सन्दीप प्रधान लगायत जम्मा 8 जना रहेका छन्।पैदल यात्रा गर्दै आज सोनादा पुगेका सन्दीप प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड मागको लागि मानिसहरुलाई जागरुक गर्न यो पैदल यात्रा आयोजना गरिएको बताए। उनले गोर्खाल्याण्ड माग्नेहरु घरमा बसेर फेसबुक हेर्दै कुरा गर्नु मात्र होइन, तर सडकमा उत्रेर गोर्खाल्याण्डको माग गर्नेहरु पनि छन् भन्ने सन्देश दिन चाहेको बताए।

प्रधानले भने, 'हामी साधारण जनताको माग छुट्टै राज्य गोर्खाल्याण्ड हो। गोर्खाल्याण्डको नाममा कसैलाई आपत्ति भए नयाँ राज्यको नाम दार्जिलिङ डुवर्स कि दार्जिलिङ राख्दा पनि हुन्छ। यस विषयमा सांसद राजु विष्टले काम गर्नेछ भन्ने विश्वास छ, किनभने उहॉं त्यसै महाकाल बाबाको कसम खाएका होइनन् होला।'

उनले भने, 'हामी सबैजना एक हुने बेला आएको छ। अबको आन्दोलन सडकमा उत्रेर गर्नु पर्दैन। हामी युवाहरु आन्दोलन गरेर जेल जाओस् भन्ने पक्षमा छैनौं। डबल इञ्जिनको सरकार भएको बेला र सरकारले दिन सक्ने क्षमता भएकाले हामी जनता चुप लागेर बस्नु हुँदैन। हामी सबै एक भएर अघि आउनु आवश्यक छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande