
खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा मंगलवार भारतीय जनता पार्टीले आफ्नो नयाँ पञ्चायत बोर्ड गठन गरेको छ। खरसाङ ब्लक प्रशासनका पञ्चायत विकास अधिकारी (पीडीओ) अनुश सादा लेप्चाको उपस्थितिमा सम्पन्न बैठकमार्फत नयाँ बोर्डको औपचारिक गठन गरिएको छ।
नवगठित बोर्डमा सोनिका तामाङ ग्राम पञ्चायत प्रधान चयन भएकी छन् भने उप प्रधानको घोषणा आगामी 17 जुलाईको दिन हुने बताइएको छ। आज चयन भएका पञ्चायत प्रधानलाई प्रशासनिक प्रक्रिया पूरा गरी औपचारिक रूपमा पदभार ग्रहण गराइएको छ।
बोर्ड गठनका क्रममा भाजपाका कानुनी सल्लाहकार रमेश अग्रवाल, जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनय प्रसाद मिडिया प्रभारी चन्दन प्रसाद, तीनधारे महानदी मण्डल सभापति उमेश प्रधान, सचिव दिपराज माझी, संयोजक योगेन्द्र छेत्री लगायत अन्य स्थानीयवासीहरूको उपस्थित रहेका थिए।
महानदी ग्राम पञ्चायतमा भाजपाको बोर्ड गठनपछि भाजपा जिल्ला सचिव विनय प्रसाद र नवनियुक्त पञ्चायत प्रधान सोनिका तामाङले महानदी क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै जन सेवाहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक