
अहमदाबाद, २० जुलाई (हि.स.)। गुजरातको अहमदाबाद स्थित वस्त्राल क्षेत्रमा रहेको अवैध पटाका कारखानामा भएको भीषण विस्फोटमा मृत्यु हुनेको संख्या बढ़ेर १० पुगेको छ। दुर्घटनामा ९५ प्रतिशतसम्म जलेका एक घाइतेको सोमवार बिहान सबेरै सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हाल चार जना घाइतेको उपचार जारी रहेको छ, जसमा एक महिलाको अवस्था अझै गम्भीर रहेको बताइएको छ।
सिभिल अस्पतालका अधीक्षक डा. राकेश जोशी अनुसार, दुर्घटनापछि पाँच जना घाइतेलाई अस्पतालमा भर्ती गरिएको थियो, जसमा एक महिला र चार पुरुष थिए। तीमध्ये एक पुरुष ९५ प्रतिशतभन्दा बढ़ी तथा महिला ७५ प्रतिशतभन्दा बढ़ी जलेका थिए। दुवैको अवस्था अत्यन्त गम्भीर भएकाले उनीहरूलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।
डा. जोशीले जानकारी दिए अनुसार सोमवार बिहान लगभग २:१५ बजी ९५ प्रतिशतसम्म जलेका पुरुष बिरामीको उपचारका क्रममा मृत्यु भयो। चिकित्सकहरूले उनको ज्यान बचाउन हरसम्भव प्रयास गरेपनि गम्भीर रूपमा जलेका कारण बचाउन सम्भव भएन।
उनले अस्पतालको बर्न्स वार्डमा अझै उपचाररत बिरामीमध्ये एक ४० प्रतिशत र अर्को २० प्रतिशतसम्म जलेको बताए। सिभिल अस्पतालमा उपलब्ध स्किन बैंकको सहयोगमा ४० प्रतिशत जलेका बिरामीको शरीरको लगभग २८ प्रतिशत भाग तथा २० प्रतिशत जलेका बिरामीको लगभग १५ प्रतिशत भागमा दानस्वरूप प्राप्त छाला (स्किन ग्राफ्ट) प्रत्यारोपण गरिएको छ। प्लास्टिक सर्जरी तथा बर्न्स विशेषज्ञहरूको टोलीले दुवैको सघन उपचार गरिरहेको छ। तेस्रो भर्ती बिरामीको अवस्था सामान्य रहेको जनाइएको छ।
उल्लेखनीय छ कि जुलाई १८ (शनिवार) अहमदाबादको रामोल थिना क्षेत्रअन्तर्गत वस्त्राल गाउँको सीमाभित्र अवैध रूपमा सञ्चालन भइरहेको पटाका कारखानामा भीषण विस्फोट भएको थियो। उक्त भीषण घटनामा यसअघि नौ जनाको मृत्यु भएको थियो। अहिले थप एक घाइतेको मृत्यु भएसँगै मृतक संख्या १० पुगेको छ। पुलिसले घटनाबारे अनुसन्धान गरिरहेको छ र कारखानाको अवैध सञ्चालन तथा दुर्घटनाको कारणबारे विस्तृत छानबिन जारी रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी