

नयाँ दिल्ली, जुलाई २० (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु आफ्नो तीन-राष्ट्रिय राजकीय भ्रमणको पहिलो चरणमा सोमवार मोल्डोवाको राजधानी चिसिनाउ पुगिन्। चिसिनाउ पुगेपछि उनलाई अन्तरराष्ट्रिय विमानस्थलमा मोल्डोवाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मिहाई पोपशोईले न्यानो स्वागत गरे। यो भारतीय राष्ट्रपतिको मोल्डोवाको पहिलो भ्रमण हो।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा राष्ट्रपति मुर्मुको मोल्डोवा पुगेको जानकारी दिए।
राष्ट्रपतिको आधिकारिक एक्स अकाउन्टमा लेखिएको छ कि माल्डोवा, उत्तरी म्यासेडोनिया र रोमानियाको राजकीय भ्रमणको पहिलो चरणमा मोल्डोवाको राजधानी चिसिनाउ पुगेपछि राष्ट्रपति मुर्मुलाई मोल्डोवाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मिहाई पोपशोईले न्यानो स्वागत गरे।
राष्ट्रपति मुर्मुले सोमवार मोल्डोवाका राष्ट्रपति माया सान्डुसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछिन्। यसका साथै उनले मोल्डोवाको संसदका अध्यक्ष इगोर ग्रोसुसँग भेट गर्नेछिन् र मोल्डोवा-भारत संसदीय मैत्री समूहका सदस्यहरूसँग अन्तर्क्रिया गर्नेछिन्। उनले एक व्यापारिक मञ्चलाई सम्बोधन गर्ने र मोल्डोवामा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरूसँग भेट्ने कार्यक्रम पनि छ।
उल्लेख्य, राष्ट्र पति मुर्मु 19 जुलाईदेखि २५ जुलाईसम्म मोल्डोवा, उत्तरी म्यासेडोनिया र रोमानियाको राजकीय भ्रमणमा छिन्।
आफ्नो भ्रमणको दोस्रो चरणमा उनी जुलाई २१ मा उत्तरी म्यासेडोनिया पुग्नेछिन्, जहाँ उनले राष्ट्रपति गोर्डाना सिल्जानोभस्का-दाभकोभासँग द्विपक्षीय वार्ता गर्नेछिन्। उनले प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीसँग पनि भेट गर्नेछिन्, उत्तरी म्यासेडोनियाको संसदलाई सम्बोधन गर्नेछिन् र भारत-उत्तर म्यासेडोनिया व्यापार मञ्चमा भाग लिनेछिन्।
आफ्नो भ्रमणको अन्तिम चरणमा राष्ट्रपति जुलाई २३ मा रोमानिया पुग्नेछिन्। त्यहाँ उनले राष्ट्रपति, अन्तरिम प्रधानमन्त्री र सिनेटका अध्यक्षसंग भेट गर्नेछिन्। उनले भारत-रोमानिया संसदीय मैत्री समूहका सदस्यहरूसँग पनि अन्तर्क्रिया गर्नेछिन्, भारत-रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नेछिन् र भारतीय समुदायका सदस्यहरूसँग भेट्नेछिन्।
हिन्दुस्थान समाचार / भवानी थामी