
नयाँ दिल्ली, २१ जुलाई (हि.स.)। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको व्यावसायिक जहाज एमवी गोल्डेन लियोमाथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलवार रूसका कार्यवाहक राजदूत (चार्जे डी'अफेयर्स) भ्लादिमिर लादानोभलाई विदेश मन्त्रालयमा बोलाएर कड़ा विरोध दर्ता गरेको छ। विदेश मन्त्रालयले उक्त आक्रमणको निन्दा गर्दै व्यावसायिक जहाजलाई निशाना बनाउनु तथा निर्दोष नागरिकको ज्यान जानु पूर्ण रूपमा अस्वीकार्य भएको जनाएको छ।
विदेश मन्त्रालय अनुसार, जुलाई १९ मा एमवी गोल्डेन लियोमाथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएको थियो। मन्त्रालयले रुसी कार्यवाहक राजदूतलाई भारतको गम्भीर चिन्ताबारे जानकारी गराउँदै यस्ता आक्रमणहरूले अन्तरराष्ट्रिय समुद्री व्यापारको सुरक्षा, संरक्षा र स्थायित्वलाई कमजोर बनाउने बताएको छ। साथै भारतको चिन्ताबारे रुसी अधिकारीहरूलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।
विदेश मन्त्रालयले व्यावसायिक जहाजमाथि आक्रमण तथा निर्दोष नागरिकको मृत्यु हुने घटनाहरू जुनसुकै अवस्थामा पनि टारिनुपर्नेमा जोड दिएको छ। अन्तरराष्ट्रिय समुद्री व्यापारको सुरक्षित र निर्बाध सञ्चालन सुनिश्चित गर्नु सबै पक्षहरूको साझा जिम्मेवारी रहेको भारतले पुनः दोहोर्याएको छ।
उल्लेखनीय छ कि एमवी गोल्डेन लियो आइतवार युक्रेनको दक्षिणी सहर ओडेसाबाट प्रस्थान गरेको थियो। यात्राका क्रममा जहाजमाथि मिसाइल आक्रमण हुँदा आगलागी भएको थियो। जहाजमा कूल १७ जना चालकदल सदस्य सवार थिए, जसमा पाँच भारतीय नागरिक पनि थिए।
उक्त आक्रमणमा जहाजका नौ जना चालकदल सदस्य तथा बन्दरगाहका एक युक्रेनी पाइलटको मृत्यु भयो। विदेश मन्त्रालयले मृतकमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ भने अर्का एक भारतीय गम्भीर रूपमा घाइते भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी