
जम्मू, २१ जुलाई (हि.स.)। जम्मू जिल्लाको अखनूर क्षेत्रमा २०–२१ जुलाईको राति खोर पुलिस थाना अन्तर्गत पर्ने बीएसएफको १३४औँ बटालियनको बीओपी मलाबेलामा तैनाथ जवानहरूले एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। ती व्यक्ति पाकिस्तानतर्फबाट भारतीय क्षेत्रमा अन्तरराष्ट्रिय सीमा (आईबी) पार गर्ने प्रयास गरिरहेका थिए।
अधिकारीहरू अनुसार, बीएसएफ जवानहरूले सीमाक्षेत्र नजिकै शंकास्पद गतिविधि देखेपछि घुसपैठीबारे थाहा पाए। ड्युटीमा रहेका सुरक्षाकर्मीले उनलाई पटक–पटक चेतावनी दिँदै रोक्न आग्रह गरेपनि उनी अगाड़ी बढ़िरहे। त्यसपछि उनलाई नियन्त्रणमा लिई बीओपी मलाबेलामा हिरासतमा राखिएको छ।
प्रारम्भिक सोधपुछका क्रममा पक्रा परेका व्यक्तिले आफ्नो नाम मोहम्मद रफिक उर्फ काला (५३), पिता मोहम्मद शफिक, पाकिस्तानको पिण्डी गाउँ निवासी भएको बताएका छन्। उनले आफू पाकिस्तानको लुनी गाउँबाट आएको र आफ्नी विवाहित दिदीलाई भेट्न पाकिस्तानकै जंग गाउँतर्फ जाँदै गरेको दाबी गरेका छन्।
बीएसएफले उनदेखि पाकिस्तानी राष्ट्रिय परिचयपत्र, चस्मा, चुरोटका प्याकेट, लाइटर, सुर्ती, केक, आँप स्वादका बिस्कुट, चकलेट, नेलकटर तथा वालेट जफत गरेको जनाएको छ।
हाल ती पाकिस्तानी नागरिक बीओपी मलाबेला स्थित बीएसएफको हिरासतमा रहेका छन्, जहाँ उनीसित थप सोधपुछ र पहिचान प्रमाणीकरणको कार्य भइरहेको छ। सीमा पार गर्ने घटनासँग सम्बन्धित सम्पूर्ण परिस्थितिबारे अनुसन्धान जारी रहेको बीएसएफले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी