
नयाँ दिल्ली, ३१ जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला लगायतका नेताहरूले आज भारतीय स्वतन्त्रता संग्रामका अमर वीर क्रान्तिकारी शहीद उधम सिंहको बलिदान दिवसको अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री मोदीले शहीद उधम सिंहको साहस र अदम्य आत्मबलले भरिएको जीवनगाथाले मातृभूमिको स्वाभिमानको रक्षा गर्न देशका हरेक पुस्तालाई निरन्तर प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “क्रान्तिकारी तथा शहीद सरदार उधम सिंहको बलिदान दिवसमा उहाँप्रति कोटि-कोटि नमन। स्वतन्त्रता सेनानीहरूको सपनाअनुरूप सशक्त, समरस, न्यायपूर्ण र आत्मनिर्भर भारत निर्माण गर्नु नै हाम्रो सङ्कल्प हो। उहाँको बलिदान र राष्ट्रभक्ति सधैं प्रेरणाको स्रोत रहनेछ।”
रक्षामन्त्री राजनाथ सिंहले उधम सिंहको अदम्य साहस तथा भारतलाई स्वतन्त्र बनाउन उनले दिएको बलिदान भारतीय इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गर्दै उनको योगदानलाई देशले सदैव स्मरण गर्ने र प्रेरणा लिइरहने बताएका छन्।
केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले स्वतन्त्रताका लागि हाँसीहाँसी फाँसीको फन्दा चुम्ने शहीद उधम सिंहको जीवन धैर्य, सङ्कल्प र राष्ट्रभक्तिको अनुपम उदाहरण भएको बताएका छन्।
केन्द्रिय सडक, यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले महान् क्रान्तिकारी सरदार उधम सिंहको पुण्यतिथिमा उनीप्रति विनम्र श्रद्धाञ्जली अर्पण गरेका छन्।
केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले उधम सिंहको अदम्य साहस, अटल राष्ट्रभक्ति र सर्वोच्च बलिदान भारतीय स्वतन्त्रता आन्दोलनको स्वर्णिम अध्याय बनेको उल्लेख गर्दै उनको योगदानले प्रत्येक भारतीयको हृदयमा राष्ट्रप्रेम र देशभक्तिको ज्योति सदैव प्रज्वलित गरिरहने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी